इटहरी । इटहरीको सेन्ट्रल प्लाजामा सञ्चालित सिनेफ्लेक्सको व्यवस्थापकीय जिम्मेवारी क्युएफएक्स सिनेमाले गर्ने भएको छ ।
श्रेष्ठ इन्टरटेनमेन्ट एण्ड हस्पिटालीटी प्राली द्वारा सञ्चालित आरएस सिनेफ्लेक्समा अब टिम क्वेष्ट प्रालीको क्युएफएक्सले व्यवस्थापन गर्ने भएको हो ।
भदौ २१ गते जवान फिल्म प्रदर्शन गरेर क्युएफएक्सले व्यवस्थापकीय जिम्मेवारी सुरु गरेको छ । इटहरी व्यापारिक, सृजनशीलता र मनोरञ्जनका क्षेत्रको केन्द्र भएकाले क्युएफएक्स आकर्षित भएको बताइएको छ ।
नेपालभर १२ स्थानमा क्युएफएक्सले व्यवस्थापकीय जिम्मेवारी सम्हालिरहेको छ । प्रदेश १ को विराटनगर र बिर्तामोडपछि इटहरीमा क्युएफएक्सको व्यवस्थापन भएको हल सञ्चालनमा आएको हो ।
६ वर्षदेखि इटहरीमा सञ्चालन हुँदै आएको सिनेफ्लेक्सका दुई वटा हल छन् । अब क्युएफएक्सको मोबाइल एप तथा अनलाइन टिकेटिङ मार्फत दर्शकले सेवा पाउने भएका छन् ।