काठमाडौँ । सगरमाथा आरोहणका लागि सबैभन्दा उपयुक्त मानिने वसन्त ऋतुको लागि सगरमाथा आरोहण सुरु भएको छ । शनिबार दिउँसो १ बजेर ५२ मिनेटमा सगरमाथाको चुचुरोसम्म पुग्ने बाटो बनाएर आरोहण सुरु गरिएको छ ।
नौ जना शेर्पा आरोहीको टोली शुक्रबार राति सगरमाथाको चौथो शिविरमाथिको बाटो खुलाउने काममा खटिएको थियो । सो टोलीले आरोहण खुला गरेसँगै सयौँ आरोही चौथो शिविरबाट चुचुरोतर्फ लागेका छन् ।
आइतबार बिहान ७ देखि १० बजेको बिचमा पहिलो आरोहण टोली सगरमाथामा पुग्ने बताइएको छ । प्रतिकूल मौसमका कारण तीन सातायता आरोहणको प्रतीक्षामा थिए ।
यस वर्ष सगरमाथा आरोहणका लागि हालसम्मकै सबैभन्दा बढीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस वर्ष सगरमाथा आरोहणका लागि नेपालसहित ६५ देशका ४६७ आरोहीले अनुमति लिएका छन् । सगरमाथा आरोहण अनुमति शुल्कबाट सरकारलाई यो वर्ष ६५ करोड ५९ लाख दुई हजार २१९ रुपियाँ हिमाली दस्तुर प्राप्त भएको छ ।