इटहरी । इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलले जेन्जी आन्दोलनमा स्कुलहरुले विद्यार्थीलाई लाइटर र पेट्रोल दिएर पठाएको आरोप लगाएका छन् । इटहरी रंगशालामा निर्मित इलाका प्रहरी कार्यालयको नयाँ भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले स्कुलले विद्यार्थीलाई सार्वजनिक सम्पत्ती जलाउन, चोरी गर्न पठाएको आरोप लगाएका हुन् ।
'स्कुल चलाउँछौँ, चेतनाको कुरा गर्छौँ, शान्तिको क्षेत्र घोषणा गर्छौँ, शिक्षामार्फत देश रूपान्तरण गर्छौँ भन्ने शिक्षालयहरूले आफ्नै विद्यार्थीलाई लाइटर र पेट्रोल दिएर सार्वजनिक सम्पत्ति जलाउन, चोरी गर्न, निजी धन–सम्पत्तिमा क्षति पुर्याउन उक्साउँछन्,' उनले भने, 'स्कुलका प्लस–टु बसमा विद्यार्थी बोकेर नगरपालिका र प्रहरी कार्यालयमाथि आक्रमण गराउने शिक्षक र त्यस्तो शिक्षालयको उत्पादन के इटहरी समाजले खोजेको हो ?'
त्यस्तै इटहरीका मिडियाहरुले आफ्नो शहर जलेको समाचारलाई आफ्नै मिडियाको टीआरपी बढाउने उद्देश्यले अट्टहासपूर्ण हाँसोका साथ प्रसारण गर्दै खुसी व्यक्त गरेको पनि आरोप लगाएका छन् ।
यसैगरी उनले नागरिक समाजलाई पनि जेन्जीहरुलाई उक्साएको आरोप लगाए, ‘नागरिक समाज हुँ भन्ने, नागरिक समाजको नेतृत्व गर्छु, इन्ट्री बदल्न भूमिका खेल्छु भन्ने केही व्यक्तिहरू आइ एम विथ जेन–जी भन्दै व्यक्तिगत सम्पत्ति र धन–सम्पत्तिमा क्षति पुर्याउने कामलाई सही ठहर गर्दै बालबालिकालाई उचाल्छन् । के इटहरीको समाजले यस्तै नागरिक समाजको नेतृत्व खोजेको हो ?'
साथै उनले बालबालिकाहरुलाई उकास्ने र शहर जल्दा रमाउनेहरु नै प्रमाणपत्र थाप्ने होडबाजीमा रहेको बताएका छन् । उनले भने, 'आफैँ आगो बाल्न पेट्रोल बोकेर आउने अनि पछि म सफा गर्छु भन्दै ढुङ्गे चेतना बोकेका, ढुङ्गे भाषा बोल्ने मानिसहरूलाई अब इटहरी समाजले चिन्न आवश्यक छ ।'
कार्यालय उद्घाटनका क्रममा सहयोग गरेको भन्दै केही व्यक्तिहरुलाई प्रमाणपत्र दिइएको थियो ।
मेयर पौडेलले इटहरीका १० जना नागरिक उत्रिएको भए प्रहरी कार्यालय नजल्ने पनि जिकिर गरे । इटहरी चोकमा रहेको प्रहरी कार्यालय जलेपछि अहिले इटहरी रंगशालामा नयाँ संरचना बनाएर त्यहाँ कार्यालय सारिएको छ । उक्त प्रहरी कार्यालय निर्माणका लागि उपमहानगरपालिकासँगै संघसंस्थाहरुले समेत सहयोग गरेका छन् । सन्तबहादुर दुम्जनको संयोजकत्वमा बनेको पुनर्निर्माण समितिले भवन सम्पन्न गरेको हो ।
राष्ट्रिय झण्डा ओढेर नयाँहरुले नकारात्मकताको खेती गरेको र राम्रो कामलाई पनि भ्रष्टाचार भयो कि भन्दै संशयपूर्ण तरिकाले प्रचारवाजी गरेको पनि मेयर पौडेलले आरोप लगाए । उनले भने, 'यो भ्रष्टाचारी हो, त्यो भ्रष्टाचारी हो। यस्ता आरोप लेख्न कुनै खर्च लाग्दैन, प्रमाण र आधार पनि चाहिँदैन। अरूको मानमर्दन र अपमान गर्न सजिलो छ ।'
उनले जेन्जी आन्दोलनका क्रममा एम्बुलेन्स र दमकल पनि जलाइएको बताउँदै भने, 'इटहरी एम्बुलेन्स र दमकलसमेत जलाउने मानिसहरू बस्ने सहर हो भन्ने परिचय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा बनेको छ। तर अब समाजलाई दूषित बनाउने केही व्यक्तिहरूलाई पाखा लगाएर, इटहरी निर्माण गर्न सक्ने शक्ति, चेतना र चिन्तन बोकेका मानिसहरूको सहर हो भन्ने नयाँ उदाहरण प्रस्तुत गर्नुपर्छ ।'
उनले संघीय सरकारले इटहरीलाई सहयोग नगरेको आरोप लगाए । उनले अब इटहरी बन्ने दिशामा अघि बढेको पनि दावी गरे ।