काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अभिनेता अनमोल केसीलाई पक्राउ गरेको छ ।
आपराधिक विश्वासघात गरेको भन्दै प्रहरीमा उजुरी परेपछि उनलाई भक्तपुरको साँगाबाट शुक्रबार पक्राउ गरिएको हो ।
जाहेरीकर्ता चन्द्रकला कटवाल थापाले केसीले रावायण नामक फिल्म खेल्नका लागि १० लाख रुपैयाँ लगेको तर सम्झौता गर्न नमानेको भन्दै उजुरी दिएकी थिइन्। उनले फिल्मका अरू कलाकारलाई पनि एडभान्स दिँदा १ करोड १५ लाख खर्च भएको उल्लेख गरेकी थिइन्।
उजुरी परेपछि दुबै पक्षलाई बोलाएको छलफलमा अभिनेता केसी नआएपछि अदालतबाट पक्राउ पुर्जी लिएर उनलाई पक्राउ गरी हिरासतमा राखिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।