नेपाल टेलिभिजनमा भ्रष्टाचार भएको भन्दै कारवाही गर्न एनटीभी इटहरी प्रमुखको आग्रह

न्युजलय ४ बैशाख २०८०, सोमबार ०३:३१ मा प्रकाशित

इटहरी । सरकारी स्वामित्वको नेपाल टेलिभिजनमा भएको भ्रष्टाचार छानविन गर्न नेपाल टेलिभिजन इटहरीका प्रमुख राजेन्द्रराज तिमिल्सिनाले आग्रह गरेका छन् ।

सेक्युरेटी प्रिन्टिङ्ग प्रेस खरीदमा अनियमितता गर्नेहरुविरुद्ध अख्तियारले छानविन गरेपछि उनले नेपाल टेलिभिजनमा भएको भ्रष्टाचारसमेत छानविन गर्न अख्तियारसँग आग्रह गरेका हुन् ।

उनले नेपाल टेलिभिजनमासमेत सामान खरीदमा अनियमितता भएको बताएका छन् । फेसबुकमा उनले गरेको पोस्टमा नेपाल टेलिभिजनमा पनि आवश्यक नै नभएका करोडौँका उपकरण, अपुरो यन्त्र र नक्कली सामान किनाएर संस्थानलाई टाट पल्टाउने काम भएको उल्लेख गरेका छन् । 

‘अटोमेशन अपूरो किन्ने, पूरो बनाउन थप रकम खर्च गराउने र पिनकोड भारतीय कम्पनीलाई दिएर ५० केबीको भिडियो ५० जीबी बनाउन सांठगांठ गर्ने देशघातीहरूमाथि शून्य सहनशील होऊ अख्तियार,’ उनले लेखेका छन्, ‘पहिलो खोलेका टेण्डर रद्ध गरीगरी सोचविचार पुर्वक साँठगाँठको कम्पनी मार्फत यसरी कमसल र नक्कली सामान खरिद गर्ने र गराउनहरुलाई कारवाही नगरी भ्रष्टाचार नियन्त्रण हुदैन । कारवाही गर अख्तियार ।’

सिंहदरबारस्थित टेलिभिजनको केन्द्रीय कार्यालयमा कार्यरत उनी केही साता मात्रै इटहरी च्यानलको प्रमुख भएर आएका हुन् । उनी टेलिभिजनभित्र इमान्दार प्रमुखको रुपमा चिनिन्छन् । 

उनी इटहरी आएपछि इटहरी च्यानलभित्रको अनावश्यक खर्च र बेथिती नियन्त्रण गर्न लागिपरेका छन् भने काममा आलटाल गर्ने र अनियमितता गर्ने कर्मचारीहरुलाईसमेत कडाइ गर्न थालेका छन् ।