इटहरी । एक वर्षमा १३ पटक र पछिल्लो एक महिनामा २ पटकसम्म पेट्रोलियम पदार्थको मुल्यवृद्धि भएकोमा नेत्रबिक्रम चन्द ‘विप्लप’ नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्द गरेको छ ।
अस्वभाविक रुपमा विनाकारण पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्याँसको मुल्य बढाएर जनताको ढाड सेकेको ‘विप्लप’ले आरोप लगाएको छ । सोहि मुल्यवृद्धि फिर्ता गर्नुपर्ने विप्लपको माग छ । र, जनतालाई सहुलियत दिनुपर्ने आवाज उसको छ । तर, जनतालाई सास्ति दियो अब हामी न्याय दिन्छौँ भन्ने शैलीमा नेपाल बन्द गरेको विप्लपले नै जनतालाई सास्ती दिएको आम सर्वसाधारण र व्यवसायीको बुझाई छ ।
जनताको घाउमा मलमपट्टि लगाउन हिँडेको ‘विप्लप’को गतिविधिले जनतालाई नुनचुक छर्के जस्तो भएको छ । ‘विप्लप’ले उठाएको माग जायज भए पनि ‘कू’ बाटोबाट समाधान खोजेको व्यवसायी र स्थानीयको गुनासो छ ।
‘यो वृद्धिको (पेट्रोलियम पदार्थको मुल्यवृद्धि) विषयमा बन्द नगरेर कुनै बार्ताको माध्यमबाट सम्बन्धीत निकायको ध्यानाकर्षण गराउनुपर्ने हो’, संखुवासभाबाट सुनसरी आएर सार्वजनीक सवारीको पर्खाइमा रहेका भक्त श्रेष्ठले भने, ‘सकारले सुन्दैन भनेर गरेका होलान् । यो बन्द गर्ने काम जनताका लागि चाहिँ राम्रो होइन् ।’
उनले आफू जस्तै लामो दुरीको यात्रामा रहेका यात्रुहरुलाई यसप्रकारको बन्दले प्रभाव पर्ने बताए । उनले ‘विप्लप’को मागको विषयमा आफ्नो ऐक्यावद्धता रहे पनि गलत तबरले मुल्यवृद्धि फिर्ता गराउन दवाव दिएको असन्तुष्टि व्यक्त गरेका छन् ।
श्रेष्ठ जस्तै सुनसरीका विभिन्न ठाउँमा भेटिने यात्रुहरुको स्वर एकै छ । उनिहरु पनि मागको विकल्प खोज्नुपर्ने बताउँछन् । ‘यो बढी भयो । बढेको कुरालाई त घटाउनु प¥यो’, इटहरीका विक्रम कार्कीले भने, ‘तर बन्द गर्ने काम चाहिँ नराम्रो भयो । बरु अरु नै तरिकाले माग गरेको भए हुनथ्यो ।’ साथै उनले बर्ताबाट समाधानको बाटो खोज्नुपर्नेमा जोड दिएका छन् ।
यात्रु र स्थानीयमा मात्रै होइन बन्दले व्यवसायीमा पनि वितृष्णा जाएको छ । कोरोना महामारीले सन् २०१९ को अन्त्यदेखि नै ठप्प प्रायः रहेको व्यवसायलाई बन्दले झन् मारमा पारेको भन्दै व्यवसायीले निरासा व्यक्त गरेका छन् ।
यसले आफूहरुलाई राहत मिलेको भन्दा झन पिडा थपेको इटहरीका व्यवसायी महेश पौडेलले बताए । ‘नेपालमा कोरोनाका कारण सबै व्यवसाय तहसनहस भएको अवस्थामा मुल्यवृद्धि वा अरु कुनै पनि वहानामा बन्द गर्नु अनुपयुक्त हो’, व्यवसायी पौडेलले भने, ‘यसले व्यवसायीलाई कुनै फाइदा छैन् । आखिरमा पर्ने मार नै हो । हामी संधै पिडित नै बन्नुपर्ने भएको छ ।’ उनले सरकार र राजनैतिक दलले यसतर्फ ध्यान दिनुपर्ने औल्याए । साथै उनि आगामी दिनमा बन्दाको विकल्पमा अन्य कुनै बाटो रोज्न पनि ‘विप्लप’लाई अनुरोध गरे ।
बन्दको कारण सुनसरीको इटहरी, धरान, इनरुवा, दुहवी झुम्का लगायतका क्षेत्रमा रहेका पसल व्यवसाय बन्द भएका छन् । यस्तै सरकारी तथा निजि विद्यालयहरु बन्द भएका छन् । अत्यावश्यक सामग्रीका पसल व्यवसाय भने निर्वाद रुपमा चलेका छन् । लामो तथा छोटो दुरीका यात्रुबहाक सवारीसाधन ठप्प छन् । दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधन भने चलिरहेका छन् ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ (डिजेल, प्रेट्रोल र मट्टितेल) मा प्रति लिटर ३ रुपैयाँ र खाना पकाउने एलपी ग्याँसमा प्रति सिलिन्डर ७५ रुपयाँले मुल्यवृद्धि गरेका भन्दै अहिले देशभर आन्दोलन भइरहेको छ ।
राजनैतिक दलका भातृसंगठनले पनि देशव्यापी रुपमा श्रृंखलाबद्ध रुपमा आन्दोलन र खबरदारीका कार्यक्रमम गरिहरेका छन् । यता निगमले भने अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्यबृद्धि भएकाले बाध्य भएर बढाउपरेको प्रतिक्रिया दिँदै आएको छ । मुल्यवृद्धि नगरे निगमलाई अरबौँ घाटा हुने तर्क निगमको छ ।