इटहरी । सहकारी टाट पल्टेको बजार हल्ला निराधार रहेको इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाले जनाएको छ ।
शनिबार विज्ञप्ती जारी गर्दै सहकारीले तरलता अभावका कारण केही समस्या भएपनि सहकारी बन्द हुने वा टाट पल्टिने कुनै सम्भावना नरहेको जनाएको हो ।
आफ्नो सहकारीको आर्थिक सुचकहरु राम्रो रहेको र टाट पल्टेको र सञ्चालक समिति भागेको भन्ने हल्ला निराधार रहेको सहकारीले स्पष्ट पारेको छ । पछिल्लो समय नेपालमा देखा परेको वित्तीय सङ्कटका कारण सहकारीलाई प्रभाव परेपनि ठूलो समस्या नरहेको जनाएको छ ।
संस्थाका अध्यक्ष फडिन्द्रबहादुर पूर्वछानेद्वारा जारी विज्ञप्तीमा आर्थिक मन्दी तथा तरलता अभावका कारण उद्योग व्यवशायदेखि सर्वसाधारणको जनजीवन र सरकारी आम्दानीमै प्रभाव परीरहेको जनाउँदै देशैभरका सहकारीहरु त्यसबाट प्रभावित रहेको र अम्बेमा पनि केही प्रभाव परेको जनाइएको छ ।
बचतकर्ताहरुले एकैपटक निक्षेप फिर्ता मागेपछि केही समस्या उत्पन्न भएको जनाउँदै निक्षेप संकलन कम हुनु, ऋणिहरुले ऋण फिर्ता गर्न नसक्नु, भाका लम्ब्याउँदै जानुले गर्दा तरलता अभाव भएको जनाएको छ ।
व्यवशायीक कामसँगै सामाजिकरुपमा समेत आफूहरु जिम्मेवार रहेको उल्लेख गर्दै विज्ञप्तीमा भनिएको छ, ‘हामी सहकारी सञ्चालकहरु पनि सहकारीमै छौं । हाम्रो कार्यालय सार्वजनिक विदाको समयभन्दा बाहेक खुलिरहेकै छ । आफ्ना नियमित कामहरु भइरहेकै छन् । हामी यहीँ छौं र यहीँ रहनेछौं । त्यसैले बचतकर्ताहरुलाई चिन्ता नगर्न र निराधार हल्लाहरुको पछि नलाग्न आग्रह गर्दछौं ।’
धेरै बचतकर्ताहरुलाई संस्थाको अवस्थाको बारेमा जानकारी गराइसकेको जनाउँदै सहकारीलाई आगामी दिनमा अझ धेरै व्यवस्थित गर्दै र सेवाकेन्द्रहरु थप गर्दै लाने उल्लेख गरिएको छ ।
सहकारीको निक्षेप संकलन ४५ करोड रुपैया र ऋण लगानी ५४ करोड रुपैया रहेको जनाइएको छ । शेयर पुँजी ५ करोड रुपैयाँ रहेको सहकारीले गत आर्थिक वर्ष २०७८/७९ मा ६० लाख रुपैया खुद नाफा गरेको विज्ञप्तीमा उल्लेख छ ।
विराटनगर, विराटचोक र दमकमा समेत सेवा केन्द्र सञ्चालन गरिरहेको संस्थाका शेयर सदस्यहरु पाँच हजार ३०० भन्दा धेरै छन् ।