इटहरी । नागरिक समाज इटहरीले उपमहानगरपालिकामा धर्ना दिएको छ । वृद्धि भएको कर समायोजन हुनुपर्ने माग राख्दै चरणबद्ध अभियान सञ्चालन गरिरहेको नागरिक समाजले धर्ना दिएको हो । कार्यक्रममा नागरिक समाज इटहरीका पदाधिकारी तथा पुर्वअध्यक्षहरुको सहभागिता थियो ।
आर्थिक ऐन २०८० मार्फत् उपमहानगरपालिकाले बढाएको कर अत्याधिक भएको र आम नगरवासीलाई त्यसले समस्यामा पारेको ठहर गर्दै नागरिक समाजले अभियान सञ्चालन गरेको हो । सो क्रममा दुई पटक उपमहानगरपालिकामा ध्यानाकर्षण गराएको छ भने एसएमएस अभियान र सामाजिक सञ्जालमार्फत् कर घटाउन आग्रह गरेसँगै उपमहानगरपालिका अगाडी सांकेतिक रुपमा मौन धर्ना आयोजना गरेको हो ।
समाजले शनिबार इटहरीमा सर्वपक्षीय भेला राखेको छ भने २५ बजे नागरिक भेलाको आयोजना गर्दैछ । कर समायोजन नभए नो ट्याक्स सम्मका अभियान सञ्चालन गर्ने जनाएको छ । सोसम्बन्धमा सर्वपक्षीय भेलाले सुझाव दिने र सोहीअनुसार अघि बढ्ने समाजकी अध्यक्ष बालिका भट्टरार्ईले जानकारी दिइन् ।
उपमहानगरपालिकाले बढाएको कर समायोजन हुनुपर्ने माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले तीन साता लामो धर्ना दिएको थियो । अन्य पार्टीहरु नेकपा एमाले, माओवादीलगायतले भने ध्यानाकर्षण पत्र बुझाएर अहिले भने मौन छन् । नेपाली काँग्रेसका स्थानीय केही नेताले विरोध जनाएपनि पार्टी अध्यक्ष नगरप्रमुख नै भएको हुँदा नेपाली काँग्रेसले कर वृद्धिलाई समर्थन गरेको छ ।
ठूला राजनीतिक दलहरु कर वृद्धिका विषयमा मौन जस्तै बसेपछि नगरवासीले नागरिक समाजको भूमिका खोजि गरेपछि नागरिक समाजले अभियान थालेको हो ।