‘महापुरुष’ नेपालकै पहिलो कार्बन न्यूट्रल फिल्म बन्दै

न्युजलय ३ पुस २०७९, आइतबार १०:०१ मा प्रकाशित

काठमाडौं । कात्तिक ११ गतेदेखि प्रदर्शनमा आएको प्रदिप भट्टराई निर्देशित नेपाली फिल्म ‘महापुरुष’ले शनिबारदेखि प्रदर्शनको ५१ दिन पुरा गरेको छ । उक्त अवसर पारेर काठमाडौंमा फिल्म निर्माण संस्थाले आयोजना गरेको समारोहमा यसलाई नेपालकै पहिलो कार्बन न्यूट्रल फिल्म बन्ने घोषणा गरियो ।


५१ औं दिनको सफलताको खुशायाली साट्न आयोजित कार्यक्रममा फिल्मको छायांकनदेखि रिलिजसम्म उत्सर्जन भएको कार्बनलाई न्यूनीकरण गर्न निर्माण टिमले वृक्षारोपण गर्ने घोषणा गरेको छ ।


फिल्मको प्रि–प्रोडक्सन, छायांकन, पोस्ट–प्रोडक्सनहुँदै प्रदर्शनसम्म ६.४ टन कार्बन उत्सर्जन भएको र त्यसको न्यूनीकरण गर्न २६६ वटा रुख रोप्न अथवा कुनै ठाउँमा ११ किलोवाटको सोलार प्यानल जडान गर्न विज्ञले निर्मातालाई सुझाव दिएका छन् ।


निर्माण टिमले कार्बन उत्सर्जन कम गर्न छायांकनको क्रममा विद्युतीय सवारी साधनको प्रयोग गरेको थियो, जसले गर्दा कार्बन उत्सर्जन तीन टन घटेको विज्ञले बताए ।


फिल्मका निर्माता रविन्द्र सिंह बानियाँले फिल्म निर्माणको क्रममा उत्सर्जन कार्बन बराबर चाँडै वृक्षारोपण वा सोलर प्यानल जडानमध्ये एउटा काम गरिने जानकारी दिएका छन् । जलवायु परिवर्तनमा फिल्म निर्माता पनि सचेत हुनुपर्ने उनको भनाई छ ।


समारोहमा कलाकार हरिवंश आचार्यले आफूले चाँडै काभ्रेको आफ्नो गाउँमा १५० वटा विरुवा रोप्न लागेको र त्यसका लागि हाल सिँचाई व्यवस्थापनको काम भइरहेको बताए ।


यसैबीच, शनिबार निर्माण पक्षले केक काटेर प्रदर्शनको ५१औं दिन पुरा भएको खुशीयाली साटेको छ ।

 

५१ दिनसम्ममा ११ करोड रुपैयाँको व्यापार गरेको यो फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराइली, रविन्द्र सिंह बानियाँलगायतको मुख्य भूमिका छ ।