संरचना भत्काउन दिइएको ३५ दिने म्याद सकिन सात दिन बाँकी

न्युजलय २८ साउन २०८०, आइतबार ११:०० मा प्रकाशित

इटहरी । इटहरीमा खोला–पैनी मिचेर बनाएको संरचना भत्काउन जारी गरिएको ३५ दिने सुचनाको म्याद सकिन एक साता मात्र बाँकी छ । इटहरी उपमहानगरपालिकाले गत असार ३१ गते जारी गरेको सुचनाको म्याद भदौ ३ गते सकिँदैछ । तर म्याद सकिन केही दिन बाँकी हुँदासम्म पनि कुनै संरचना भत्काइएका छैनन् ।


खोला तथा पैनीको दुवै किनारबाट ६–६ मिटर छोडी भवन संरचना बनाउनु पर्ने प्रचलित कानुनलाई आधार मान्दै संरचना हटाउने तयारी भएको मेयर हेमकर्ण पौडेलले बताएका थिए । सोअनुसार टेंग्रा खोला,खेती खोला र सुकुमारी पैनीको क्षेत्राधिकार भित्रको जग्गा खाली गर्न मेयर ३५ दिने सुचना सार्वजनिक गरिएको थियो । 


अतिक्रमित क्षेत्र खाली नगरे डोजर चलाउने र लागेको खर्च सम्बन्धितबाट असुल उपर गर्ने जनाइएको छ । उपमहानगरपालिकाले यस विषयमा आफैले पनि एउटा टोली बनाएर खोला, पैनीको नापजाँच गरिरहेको छ ।


इटहरीमा खोला तथा पैनी मिचेर संरचना बनाइएका छन् । त्यसका साथै पुराना पानी बग्ने पैनीहरुसमेत मासिएका छन् । जसको कारण इटहरीलाई डुबानले सताउने गरेको छ । इटहरीमा वर्षेनी हुने बाढी तथा डुबान नियन्त्रण गर्नको लागि अतिक्रमित संरचना भत्काउने निर्णयमा उपमहानगरपालिका पुगेको छ । तर पहुँचवालाहरुकै निजी तथा संस्थागत भवनहरु खोला, पैनी मिचेर बनाइएकाले कार्यान्वयन हुनेमा भने शंका गरिएको छ ।