झापामा हत्या गरेको आरोपमा एक जना पक्राउ

न्युजलय ३ पुस २०७८, शनिवार ०३:१० मा प्रकाशित

झापा । धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा झापाबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दमक नगरपालिका–१ का २० वर्षीय अर्जुन लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

लिम्बुले मंसिर २९ गते दमक–२ का २५ वर्षीय तेजप्रकाश पराजुलीलाई धारिलो हतियार प्रहार गरेका थिए । उनको उपचारको क्रममा बिएन्डसी अस्पतालमा मृत्यु भएको थियो । 

पुस १ गते पक्राउ परेका लिम्बुलाई नियन्त्रणमा लिई केरकार गर्दा रिसइबीका कारणले हतियार प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले लिम्बुलाई जिल्ला अदालत झापाबाट म्याद थप गरी कानुनी कारबाही अगाडि बढाएको छ।