सुनसरीको दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित तीन जना पक्राउ

न्युजलय ३१ मङ्सिर २०८२, मङ्गलबार १२:२६ मा प्रकाशित

इटहरी । सुनसरीको छुट्टाछुट्टै दुई स्थानबाट लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका ३ नडाहा स्थितबाट बा १८ च ३८३४ नम्बरको कारको पछाडिको सिट र डिक्कीमा कालो प्लाष्टिकभित्र ५ वटा पोकामा लुकाईछिपाई राखेको १ सय ३० किलोग्राम गाँजा बरामद गरेसँगै कार दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कार चालक इटहरी–१७ पकलीका २४ वर्षीय करण साह र कारमा सवार विराटनगर–५ का २१ वर्षीय सचिन मेहता रहेका छन् ।

त्यस्तै, अस्थायी प्रहरी बिट जोरसखुवाले धरान–१६ बाट सोही स्थानका २९ वर्षीय विष्णु सुब्बालाई प्रतिबन्धित लागूऔषध ट्रामाडोल ५ सय २५ क्याप्सुल र डिक्लोमाईन ५ सय २५ ट्याब्लेटसहित पक्राउ गरेको हो ।

लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।