आफ्नै स्वामित्वको जमिनमा डोजर चलाएर दुहबीले गर्यो राजमार्ग विस्तारको सुरुवात

न्युजलय ५ बैशाख २०८०, मङ्गलबार ०५:४५ मा प्रकाशित

इटहरी । जोगबनी–किमाथांका ६ लेन सडक विस्तारअन्तर्गत दुहबी क्षेत्रमा मंगलबार डोजर चलाइएको छ । स्थानीयको अवरोधका कारण लामो समयदेखि विस्तार हुन नसकेको दुहबी क्षेत्रमा मंगलबार ११ वटा डोजर परिचालन गरिएको छ ।

बजार क्षेत्रका धेरै घर भत्कने भन्दै स्थानीयले डाइभर्सन गर्नुपर्ने माग गर्दै आएका थिए । तर दुहबी नगरपालिका र प्रशासनको सहकार्यमा घर भत्काउन थालिएको हो । योसँगै ६ लेन सडक निर्माणको ठूलो अवरोध हट्ने भएको हो । 

दुहबी नगरपालिकाले आफ्नै स्वामित्वमा रहेको जमिनमा डोजर चलाएर राजमार्ग विस्तारको काम सुरु गरेको छ । नगरपालिका स्वामित्वको १४ कठ्ठा ११ धुर जग्गामा स्थानीयले लामो समयदेखि व्यवसाय सञ्चालन गर्दै आएका थिए । 

नगरपालिकाले संरचना भत्काउन सुचना जारी गरेपनि स्थानीयहरूले मुआब्जा माग्दै उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेका थिए । तर अदालतले रिट खारेज गरिदिएसँगै नगरपालिकाले भत्काउन सुरु गरेको हो । 

जोगबनीदेखि धरानसम्मको राजमार्ग विस्तारका क्रममा दुहबी बजार क्षेत्रमा काम अघि बढ्न सकेको थिएन भने यता खनारदेखि दुहबी सडक खण्डको एकापट्टी खोला भएको कारण काम सुरु हुन सकेको छैन । यस्तै इटहरी चोकको उत्तरतर्फको भागमा फुटपाथको भाग खाली गर्न बाँकी छ ।