सुनसरी । बराहक्षेत्र नगरपालिका–३ नडाहास्थित कालिन्द्र सामुदायिक वनमा जङ्गली हात्तीको आक्रमणबाट दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार दिउँसो बराहक्षेत्र–३ का ७२ वर्षीया मैया विक घाँस काट्न जङ्गलमा जाने क्रममा जङ्गली हात्तीले आक्रमण गर्दा गम्भीर घाइते भएका छन् ।
त्यस्तै, बराहक्षेत्र–३ का ३४ वर्षीया पूजन विक जङ्गलबाट घाँस काटेर फर्किने क्रममा हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
पूजनलाई नडाहा–धरान रोडमा हात्तीले आक्रमण गरेकोर उनको निधार, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।
प्रहरी प्रमुख थेबेका अनुसार घाइते दुवैलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक दिवस कुँवरको कमाण्डमा खटिएको टोलीले उद्धार गरी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पुर्याएसँगै उपचार भइरहेको छ ।