मलेसियामा तीन महिनादेखि ८ नेपाली अलपत्र

न्युजलय १८ फाल्गुण २०७९, बिहिबार ०९:५३ मा प्रकाशित

काठमाडौं । आकर्षक रोजगारीको प्रलोभनमा परेर दलालमार्फत मलेसिया पुगेका ८ जना नेपाली युवा विगत तीन महिनादेखि अलपत्र परेका छन् ।

काठमाडौँको नयाँबानेश्वोरमा रहेको ओशो एजेन्सी प्रालिमार्फत मलेसियाको पिटीसी एसियन प्लास्टिक एसडिएन बिएचडी कम्पनीमा क्लिनरको रुपमा पुगेका आफूहरू भोक भोकै अलपत्र अवस्थामा रहेको तीमध्यका एक गोपाल शाह हुलवाईले बताए।

एजेन्ट तथा म्यानपावर कम्पनीले प्रति महिना १ हजार ५ सय मलेसियन रिंगेट तलब र खाने बस्ने सुविधा रहेको भन्दै उनीहरूलाई विगत पाँच महिना अघिमात्र मलेसिया पठाएको थियो । त्यहाँ पुगेपछि म्यानपावरले सम्झौता गरेअनुसारको काम र तलब नपाएको उनीहरूले बताएका छन् ।

म्यानपावर कम्पनीलाई सम्पर्क गर्दा आज हुन्छ, भोलि हुन्छ, हामी अर्को कम्पनीमा सेटल गर्छौ भन्दै झुक्क्याउने गरेको पीडितहरूले बताएका छन् । पछिल्लो समय त म्यानपावरले फोन नउठाएको र उठाए पनि जे गर्छौ गर भन्दै धम्क्याउने गरेको उनीहरूले गुनासो पोखेका छन्।

मलेसियास्थित नेपाली दूतावासमा सम्पर्क गर्दा समस्या सुन्ने तर जवाफ नदिएरै फोन राख्ने गरेको बताएका छन् । प्रतिव्यक्ति २ लाख ७० हजार बुझाएर उनीहरू मलेसिया पुगेका हुन्।

आफूहरूलाई सकुशल उद्धार गरी स्वदेश फर्कने वातावरण मिलाइदिन उनीहरूले यसै सञ्चार माध्यममार्फत श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, नेपाली दूतावास लगायत सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

अलपत्र पर्नेहरुमा हरिराम महरा चमार, गणेश कुमार यादव, शिव कुमार महतो, घुरन महतो, गोपाल शाह हुलवाई, अरुण पासवान, दिलीप कुमार माझी र सुबोद कुमार महरा रहेका छन् ।