त्रिभुवन विमानस्थलबाट कोकिनसहित दुई भारतीय महिला पक्राउ

न्युजलय १६ चैत २०७९, बिहिबार ०७:१९ मा प्रकाशित

काठमाडौँ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले ७ केजी ८ सय ८७ ग्राम लागूऔषध कोकिनसहित दुई जना भारतीय महिलालाई पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँ दिल्ली लैजान लागेको अवस्थामा कोकिनसहित एक भारतीय महिला र काठमाडौँको ठमेलस्थित एक होटलबाट अर्की एक भारतीय महिलालाई पक्राउ गरिएको जनाएको छ ।

पक्राउ पर्नेमा ४५ वर्षीया भन्लालमी र २९ वर्षीया इस्थर लाह्लिमपुई रहेका छन् । बरामद भएको कोकिनको अवैध बजार मूल्य १७ करोड तीन लाख ५१ हजार रहेको ब्युरोका प्रमुख ‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍प्रहरी वरिष्ठ उपरीक्षक विकास राज खनालले जानकारी दिए ।

फागुन १४ गते दिल्ली जान लागेकी भन्लालमीको लगेज चेक गर्ने क्रममा लगेजभित्र चारवटा लेडिज फल्सबटम बनाई लागूऔषध लैजान लागेको अवस्था पक्राउ गरिएको खनालले बताए ।