रामजानकी मन्दिरको संरक्षणमा स्थानीय सरकारको ध्यान

बाबुराम कार्की १८ जेठ २०८०, बिहिबार १०:३१ मा प्रकाशित

सुनसरी । प्रकाशपुर बजारमा रहेको रामजानकी मन्दिरको संरक्षणको काम  वडा कार्यालयको अगुवाइमा सुरु गरिएको छ । 

चार दशक अगाडि स्थानीय माईराम चौधरीले प्रकाशपुर बजारमा रामजानकी मन्दिरको स्थापना गरेकी थिइन् । केही वर्षदेखि मन्दिरको नित्यकर्मसमेत बन्द रहेको छ । 

मन्दिर संरक्षण र सम्वद्र्धनको अभावमा मन्दिरको सिमाना अतिक्रमण हुँदै आएपछि स्थानीय सरकारले मन्दिरको संरक्षण गर्न र मिचिएको जग्गा निकाल्ने कामलाई अगाडि बढाएको वडाध्याक्ष तेजबहादुर गुरुङ्ले बताए । 

‘तीन कठ्ठा १७ धुर क्षेत्रफलमा रहेको मन्दिरको घेराबारा उपभोक्ता समिति गठन गरेर वाल लगाउने काम सुरु भएको छ ।’ उनी भन्छन्, ‘वडाक्षेत्र भित्र रहेका मठ, मन्दिर, पाटीपौवा लगायत सार्वजानिक चल, अचल सम्पत्तिको संरक्षण र सम्वद्र्धन गर्नु स्थानीय सरकारको दायित्व हो । हामीमाथि जनताले गरेको भरोसा र विश्वासलाई शिरोधार्य गर्दै कामहरु अगाडि बढाउदै लगेका छौ ।’ 

‘अहिले सार्वजानिक सम्पत्तिको संरक्षण हाम्रो पुस्ताले नगरे भावी पुस्ताले हामीलाई धिक्कार्ने छ । मन्दिरको जग्गा अतिक्रमण हुँदै गएपछि १५ लाख बजेट बिनियोजन गरेर मन्दिर क्षेत्रको सीमाना छुट्याई पर्खाल लगाउने काम भइरहेको छ ।’ 

रामजानकी मन्दिरको संरक्षण गर्न स्थानीय सरकार लागेपछि स्थानीयहरु पनि खुसी भएका छन् । “स्थानीयको जनभावना अनुसार जनप्रतिनिधिले काम गरेकोमा हामी सबै खुसी छौँ” स्थानीय रामबाबु रौनियारले भने ।   

यत्तिका वर्षसम्म मन्दिरको घेराबारा गर्न कसैले आँट गरेनन्, अहिलेका युवा वडाध्याक्ष भाइले राम्रो काम गरेको मन्दिर वाल निर्माण समितिका अध्यक्ष केशव राईले बताए । 

“मन्दिरको दक्षिणपट्टिको केही फिट जग्गा मिचिएकोे थियो । नक्साअनुसारको जग्गा निकालेका छौँ । मन्दिरको सबै सीमाना क्लियर भएर वाल निर्माणको काम अघि बढेको छ ।“ 

प्रकाशपुर बजार क्षेत्रभित्र रहेको जग्गालाई संरक्षण गरेर मन्दिरलाई सञ्चालन गर्न स्थानीयहरुले पटक पटक पहलकदमी गरेपनि हुन सकेको थिएन” स्थानीय अनमोल रौनियारले बताए । 

मन्दिर संचालनमा आएपछि दैनिक विहान, बेलुका पूजापाठ गर्न पूजारीको व्यवस्था, धर्मशाला र विवाहमण्डप निर्माण गरी वडा क्षेत्रमा हुने विवाह ब्रतबन्ध लगायतका धार्मिक कार्यहरु गर्न समेत सहज हुने अध्यक्ष गुरुङ् बताउछन् । 

मधेशी समुदायमा रातिको विवाह गर्ने परम्परा भएको हुँदा सबैलाई सहज होस् भनेर आवश्यक निमार्णका कामहरु समेत चाडै डिपिआरको काम अगाडि बढाइने गुरुङ्ले वताए । 

हाम्रो क्षेत्रको संसद ज्ञानेन्द्र बहादुर कार्कीले चुनावको बेला मन्दिरमा आउदा मन्दिरको घेरावार हुने कुरामा ढुक्क हुनुहोस्  भन्नु भएको थियो काम भइरहेको छ स्थानीय विनोद रौनियारले त्यो दिनलाई सम्झीदै भने । 

मन्दिरमा धर्मशाला र विवाह मण्डप बनेपछि प्रकाशपुरको गहनाको रुपमा रहने स्थानीय समाजसेवी ओम कोइराला बताउछन् ।  

रामजानकी मन्दिर संचालनमा आउदा केहि माछेले रोजगारी समेत पाउने निर्माण समितिका सचिव राममणि आर्चया वताउछन् । उनी भन्छन् बजार क्षेत्रभित्र रहेकाले पूजा पसलहरु समेत चल्ने छन् । 

रामजानकी मन्दिरदेखि पाँच किलोमिटर पूर्वमा रहेको रामधुनी मन्दिरसँग धार्मिक सर्किटमा जोडेर विवाह पञ्चमीमा रामधुनीबाट जन्ति आउने र रामजानकी मन्दिरमा विवाह उत्सव मनाउने कार्यको थालनी गरी धार्मिक पर्यटनलाई जोड्न सकिने स्थानीय रामप्रकाश कोइरालाले बताए ।