कचना मन्दिर : जहाँ शरीरमा आएको मुसा निको पार्न भन्टाको भार चढाउने भाकल गरिन्छ

न्युजलय ३ बैशाख २०८०, आइतबार ०४:५३ मा प्रकाशित

इटहरी । सुनसरीको इटहरी ४ मा रहेको कचना महादेवको मन्दिरमा यो वर्ष पनि मेला लागेको छ । सिरुवा पर्वअन्तर्गत प्रत्येक वैशाख ३ गते मन्दिरमा पुजा अर्चना गर्न र मेला भर्न हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरु यो वर्ष पनि मन्दिर पुगेका हुन् ।

मन्दिरमा भन्टाको भार चढाएर पुजा गर्ने प्रचलन छ । खासगरी शरिरमा आएका मुसा निको होस् भनेर भाकल गर्ने चलन छ । यसरी भाकल गर्दा निको हुने जनविश्वास छ । भाकल पुरा गर्न मन्दिरमा भन्टाको भार चढाउने गरीन्छ । यसका साथै हराएको धनमाल, गाई वस्तु भेट्टाउन, घरपरिवार तथा बालबच्चाको स्वाथ्यको कामना गर्न मन्दिरमा पुजा गर्ने चलन छ ।

मन्दिर पहिला थारु समुदायले पुजा गर्ने ग्रामथान थियो । अहिले भने व्यवस्थित मन्दिर बनाइएको छ ।  

मन्दिरमा बिहानैदेखि लामो लाइन लागेको थियो प्रहरीका साथमा स्थानीय मन्दिर व्यवस्थापन समिति तथा युवाहरुको समुहले पार्किङ तथा लाइनको व्यवस्थापन गरेका थिए । पहिले निकै ठूलो क्षेत्रफलमा लाग्ने यो मेला आजभोलि वरपर घरहरु बनेपछि सडक क्षेत्रमा खुम्चिएको छ ।