बलिउड फिल्मका चर्चित खलनायक आशीषले गरे दोस्रो बिहे

न्युजलय १२ जेठ २०८०, शुक्रबार ०१:०७ मा प्रकाशित

काठमाण्डौ । बलिउड फिल्ममा खलनायकको भूमिका निर्वाह गरेर चर्चामा आएका आशीष विद्यार्थीले विवाह गरेका छन्।

उनले ६० वर्षको उमेरमा रूपाली बरूआसँग दोस्रो विवाह गरेका हुन्। उनीहरूले बिहीबार कानुनी रूपमा विवाह गरेका हुन्।

भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सका अनुसार असम राज्यकी रूपाली फेशन डिजाइनर हुन्। उनको कोलकतामा फेसन स्टोर छ।

आशीष र रूपालीको १० वर्ष उमेर अन्तर छ। आशीष ६० वर्ष भए भने रूपाली ५० वर्षकी हुन्।

आशीषको पहिलो बिहे अभिनेत्री शकुन्तला बरूआकी छोरी राजोशी बरूआसँग भएको थियो। उनीहरूका एक छोरा छन्। यद्यपि उनीहरूबीच डिभोर्स भइसकेको छ।

आशीषले हिन्दी, तेलुगु, तमिल, कन्नड, मलयालम गरी ११ भाषामा करिब २०० वटा फिल्ममा काम गरिसकेका छन्।