इटहरी । नेपालको विकासका लागि अर्थव्यवस्था रिफर्म गर्नुपर्ने र स्थायी सरकार हुनुपर्नेमा अर्थविद् चन्द्र घिमिरेले बताएका छन् । उनले भिजनरी दह्रो सरकार आवश्यक रहेकोमा समेत जोड दिएका छन् ।
विहीबार इटहरीस्थित कस्तुरी कलेजका विद्यार्थीहरुमाझ कलेजका प्राचार्य कमलेश शर्मा पौडेलले सञ्चालन गरेको संवादका क्रममा घिमिरेले यस्तो बताएका हुन् ।
नेपाल सरकारको सचिवबाट हालैमात्र सेवा निवृत्त धरानका चन्द्र घिमिरेले बेलायतका लागि नेपाली राजदुत, कोलकाताको लागि महावाणिज्यदूतको रुपमा काम गरिसकेका छन् । उनले संवादका क्रममा नेपालको चुनौति, आर्थिक अवस्था र सम्भावनाहरुका बारेमा जानकारी दिएका थिए ।
उनले नेपाल विश्व व्यापार संघमा विना तयारी प्रवेश गरेकोले नेपालको आर्थिक अवस्था सुध्रन नसकेको बताए । उनले भुटानको उदाहरण दिँदै भने, ‘हाम्रो भन्दा धेरै राम्रो जिडिपी भएको भुटान अहिले पनि तयारी गरिरहेको छ र आफूले तोकेको मिति तयारीका लागि सारिरहेको छ ।’
यस्तै घिमिरेले नेपालको वैदेशीक व्यापार घाटा आजभोलि केही घटेको देखिएपनि यो क्षणिक भएको बताउँदै कृषि र औद्योगिक उत्पादन वृद्धिमा लाग्न आवश्यक रहेको बताए । ‘त्यसका लागि आर्थिक रिफर्म गर्नुपर्छ,’ उनले भने, ‘नेपालमा यतिन्जेलम्म चार पटक आर्थिक रिफर्म भइसक्नुपर्ने हो, तर एक पटक भएर रोकियो ।’ उनले थपे, ‘एक समय भारतको भन्दा नेपालको आर्थिक स्थिती राम्रो थियो, तर पछि उसले जोखिम लियो, आर्थिक रिफर्म गर्यो, आज ऊ हामीभन्दा धेरै अगाडी गइसक्यो ।’
उनले एमसिसिजस्ता परियोजनाहरु नेपालको लागि आवश्यक रहेको समेत बताए । ‘हामीलाई आर्थिक विकासको आधार तयार गर्नका लागि पैसा चाहिन्छ, त्यो हामीसँग छैन भने विदेशीसँग लिने हो,’ उनले भने, ‘वैदेशिक लगानी भनेको पैसा मात्र होइन, प्रविधि पनि हो, त्यसले उत्पादन बढाउँछ र हाम्रो देशको आय बढाउँछ ।’
उनले नेपालमा आर्थिक विकासका सम्भावनाहरु रहेको बताउँदै त्यसका लागि सरकारले सही नीति ल्याउनुपर्ने बताउँदै सबै युवाहरुले सरकारलाई झक्झक्याउन आवश्यक रहेकोमा जोड दिए ।
घिमिरेले कोशी प्रदेश र सुनसरीका लागि विभिन्न प्रोजेक्टहरुको खाका तयार गरेको बताउँदै प्रदेशका साथै इटहरी, धरानजस्ता पालिकाले नयाँ प्रोजेक्ट सञ्चालन गर्न सकेको खण्डमा आर्थिक विकासको आधार तयार हुने दावी गरे ।