खोटाङ । बाँदर खेद्न जङ्गल पुगेका एक जनाको गोली लागेर मृत्यु भएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीको निगालेस्थित महभीर जंगलमा बाँदर धपाउने क्रममा भरुवा बन्दुकबाट चलेको गोली लाग्दा ५३ वर्षीय श्यामबहादुर तामाङको मृत्यु भएको हो ।
मङ्गलबार दिउँसो भएको घटनामा श्यामबहादुरका काकाका छोरा ५४ वर्षीय भलाबहादुर तामाङले चलाएको भरुवा बन्दुकको गोली लागेको प्रहरीले जनाएको छ । दुवै जना सँगै जंगलमा बाँदर खेद्न गएका थिए ।
प्रहरीका अनुसार दुईतिरबाट बाँदरलाई घेरेर धपाउने क्रममा भलाबहादुरले गोली चलाएका थिए । गोली लागेर अर्कोतर्फ रहेका श्यामबहादुर गम्भीर घाइते भएका थिए । घटनास्थलमै उनको मृत्यु भएको बताइएको छ ।
घटनापछि प्रहरीले भलाबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । घटनामा प्रयोग भएको भरुवा बन्दुकसमेत प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ ।
घटनाको अनुसन्धानका लागि प्रहरी चौकी खार्मी र जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरीक्षक बस्नेतको नेतृत्वमा टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ ।