अमेजनले एकैपटक १८ हजार बढी रोजगार कटौती गर्ने

न्युजलय २१ पुस २०७९, बिहिबार १०:४३ मा प्रकाशित

काठमाडौं । अमेजन कम्पनीले एकैपटक १८ हजारभन्दा बढी रोजगार कटौती गर्ने योजना बनाएको छ । खर्च कटौती गर्ने उद्देश्यले कम्पनीको इतिहासमै पहिलोपटक यति धेरै सङ्ख्यामा कामदारलाई बिदाइ गरिन लागेको हो ।

अमेजनको विश्वभर १५ लाख कर्मचारी रहेका छन् । तर, कम्पनीले कुन मुलुकका कर्मचारी निकालिन लाागेको हो भन्ने सार्वजनिक गरेको छैन । बरु जागिर गुमाउने कर्मचारीमा युरोपका पनि रहेको संकेत दिइएको बीबीसीले लेखेको छ ।

अधिकांश रोजगार यस कम्पनीका पसलसहित “अमेजन फ्रेस एन्ड गो” र मानव संसाधन विभागबाट कटौती हुने भएका समाचारमा जनाइएको छ ।

अमेजनका मालिक एन्डी ज्यास्सीले भनेका छन्, “अनिश्चित अर्थतन्त्रका कारण जागिर कटौती गर्नु परेको हो । थुप्रै वर्षसम्म कम्पनीले व्यापक रुपमा रोजगार उपलब्ध गराएको थियो । तर, हामीले यस निर्णयलाई हल्का ढंगले भने लिने छैनौँ । यसले थुप्रै मानिसका जीवनमा असर पार्नेछ । कम्पनीकै एकजना कर्मचारीले बाहिर कर्मचारी कटौती हुन लागेको खबर फिजाएकाले पनि कम्पनीले यो घोषणा गरेको हो ।” 

आगामी १८ जनवरीसम्ममा जागिरबाट निकालिएका कर्मचारीलाई त्यसबारे सूचित गरिने अनुमान गरिएको छ । अमेजनले यसअघि नै कर्मचारी भर्ना रोकिसकेको छ । साथै, कोरोना माहमारीका दौरान धेरै रोजगार खुलाएको भन्दै आफ्ना केही भण्डारगृहको बिस्तार कार्य रोकिसकेको छ ।