काठमाडौं । विभिन्न नाकामा खटिएको नेपाल प्रहरी तथा माइती नेपालको टोलीले १६ वर्षभन्दा मुनिका २९ बालकलाई उद्धार गरेको छ।
उनीहरुलाई काठमाडौंको थानकोट नाका, झापाको काकडभित्ता नाका तथा सिन्धुलीबाट उद्धार गरिएको हो। भारतको कर्नाटकमा रहेको गुम्बामा बौद्ध शिक्षा पढाउन नेपाली बालकहरुको ओसारपसार हुने गरेको खुलेको छ। यस्तै, ओसारपसार गर्ने ८ जना प्रक्राउ परेका छन्।
प्रहरीको मानव बेचविखन व्युरो प्रमुख एसएसपी दुर्गा सिंहका अनुसार मंसिर १४ गते काठमाडौंबाट बाहिर जाने थानकोट नाकामा खटिएको प्रहरीको टोली र माइती नेपालको समूहले १३ वर्षमुनिका १६ जना बालकलाई थानकोटबाट उद्धार गरेको छ।
एकैपटक १६ जना बालकहरुको उद्धार गरिएपछि प्रहरीले भारतको कर्नाटकमा रहेको गुम्बामा बौद्ध शिक्षा र लामा शिक्षाका लागि नेपाली बालकहरु ओसारपसार हुने तथ्य फेला पारेको हो। थानकोटमा भेटिएका ती बालकहरुसँग सोधपुछ गर्ने क्रममा बालबालिकाको गैरकानुनी ओसारपसार भएको खुलेको हो।
अघिल्लो हप्ता नवलपरासी देवचुलीका सन्तविर लामा पनि ५ जना बालकसहित प्रक्राउ परेका थिए। निशुल्क खान लाउन पाइने र पढ्न पनि पाइने भन्दै अभिभावकलाई प्रलोभनमा पारेर भेला गर्ने गरेको प्रहरीले जनाएको छ। कपनमा रहेको गुम्बामा जम्मा गरेर भारतको कर्नाटक राज्यमा रहेको विभिन्न गुम्बामा लैजाने गर्थे।
सिंहका अनुसार प्रक्राउ परेका सन्तविरले सिन्धुलीको खुर्कोटमा गएर वडा कार्यालयको सिफारिस बनाउने क्रममा लामा प्रक्राउ परेका हुन्। अनुसन्धानका क्रममा उनले यसअघि पनि ८० भन्दा बढी बालकहरु भारतमा पुराएको खुलेको छ। उनलाई मानव बेचविखन तथा ओसारपसार कसुरमा अनुसन्धान भैरहेको छ।
त्यस्तै केही दिन अघि झापाको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले ८ जना बालबालिकाको उद्धार गरेको थियो। बालबालिकासम्वन्धी ऐन २०७५ अनुसार बालबालिकालाई नेपालको एक स्थानबाट अर्को स्थानमा वा अन्य देशमा लैजादा स्थानीय बाल अधिकार समिति वा राष्ट्रिय बाल अधिकार परिषद्को सिफारिस आवश्यक पर्छ।