धरान । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क राईले सामाजिक र धार्मिक सद्भाव राख्न सबैसँग अपिल गरेका छन् ।
पछिल्लो केही दिनदेखि धरानमा सामाजिक अन्तरसम्बन्ध खलबल हुने खालका गतिविधि भइरहेको भन्दै मेयर राईले विरोध, प्रतिशोध र नकारात्मकतालाई त्यागेर शान्त बन्न आग्रह गरेका हुन् ।
सबै जना संयमित र संवेदनशील भएर सबै समुदाय र हरेक नागरिकको भावना प्रतिविम्बित हुने गरी आपसी सद्भाव, भाइचारा र एकता कायम गर्न उनले धरानवासीलाई अपिल गरेका छन् ।
पछिल्लो समय धरानमा धार्मिक र सामाजिक विवाद बढ्दै गएको छ । हिजो बिहीवार पनि पाँच जना पूर्वमेयरहरूले विज्ञप्ति निकालेर सबैलाई संयम बन्न र सामाजिक एकता कायम राख्न आग्रह गरेका थिए ।