धरान । धरानको खानेपानीमा दिसामा पाइने जीवाणु कोलीर्फम भेटिएको छ ।
खानेपानी बोर्ड मार्फत धरानमा वितरण भइरहेको पानीको मुहान र ट्याङ्कीको पानी परीक्षण गर्दा कोलीर्फम पाइएको हो ।
धरानको हाल वितरण भइरहेको खानेपानीमा कोलीर्फम भेटिएको प्रतिवेदन इटहरीस्थित नेपाल सरकार खानेपानी मन्त्रालय, पानीको गुणस्तर परीक्षण प्रयोगशालाले दिएको हो ।
कोलिफर्म शून्य युनिट रहेको पानीमात्र खानयोग्य हुने प्रयोगशालाले जनाएको छ ।
धरानमा देखिएको पानीको अभाव कम गर्न अहिले धरानका मेयर हर्क साम्पाङ पानीको मुहान सुधार र स्रोत व्यवस्थापनमा लागेका छन् ।
स्रोत व्यवस्थापन र पानीको मुहान सुधारमा लागे पनि खानेपानीको मुहानको पानी शुद्धीकरणमा ध्यान नदिँदा सर्वसाधारणको घरघरमा कोलीफर्म पुग्न थालेको देखिएको छ ।
सर्दु, लर्दुसहित पछिल्लो समय ल्याएका खोला(खोल्सासहित ६ वटा मुहानको पानी शुद्धीकरण नगरी पिउन नहुने कोलीफर्मयुक्त प्रदूषित पाइएको हो ।
सबैभन्दा बढी भालु खोलाबाट ल्याई विजयपुर गौ धारा ट्याङ्कीमा खसालिएको पानीमा कोली फर्मको मात्रा ३५ युनिट पाइएको छ ।
फुस्रेस्थित ट्यांकीको पानीमा कोलीफर्म ३० युनिट पाइएको छ । निसाने खोलाको पानीमा कोलीफर्म २० युनिट पाइएको छ । सर्दु खोलाको पानीमा कोलीफर्म १० युनिट पाइएको छ । खर्दुखोलाको पानीको कोलिफर्म १५ युनिट पाइएको छ ।
पछिल्लो समय कोकाहाबाट ल्याएर विष्णु चौकमा झारिएको पानीमा समेत कोलिर्फम ५ युनिट पाइएको छ ।
धरान(१७ स्थित कुम्भी आहालमा जमिनमुनिबाट निकालिएको पानीमा भने कोलिफर्म शून्य रहेको पाइएको छ ।