होमवर्क नगरेको भन्दै इटहरीको एक विद्यालयमा अध्ययनरत छात्रामाथि निर्घात कुटपिट

न्युजलय १४ पुस २०७८, बुधबार ०७:३० मा प्रकाशित

इटहरी । इटहरीस्थित एक विद्यालयमा अध्ययनरत छात्रामाथि होमवर्क नगरेको भन्दै शिक्षकले निर्घात कुटपिट गरेका छन् । इटहरी उपमहानगरपालिका–२ मा रहेको चन्द्र मेमोरियल इङ्गलिस स्कुलमा कक्षा ५ मा अध्ययनरत १० वर्षीया सुरक्षा तामाङमाथि होमवर्क नगरेको भन्दै कम्प्युटर शिक्षक सुजन दाहालले कुटपिट गरेका हुन् ।

 

घाइते बालिकाका अनुसार शिक्षक दाहालले होमवर्क गर्न नसकेको भन्दै देब्रे हातको पाखुरामा निर्घात कुटपिट गरेका हुन् । 

 

कुटाइका कारण पीडित बालिकाको पाखुरा सुन्निएको छ भने निलडाम स्पष्ट देखिन्छ । मेडिकल जाँचका क्रममा पाखुरामा रगत जमेको पाइएको छ । चिकित्सकले केही साताका लागि औषधि दिएका छन् ।


यो घटनापछि घाइते बालिकाकी आमा वीरमाया तामाङले कुट्ने शिक्षकमाथि कारबाही हुनुपर्ने माग राखेकी छन् ।

 

विद्यालयका प्रधानाध्यापक देवकुमार दाहालले शिक्षकबाट कुटपिट भएको जानकारी प्राप्त भएको भन्दै वास्तविकता बुझ्ने प्रयास भइरहेको बताए ।