भोजपुर । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनमा भोजपुरको हतुवागढी गाउँपालिका प्रथम भएको छ ।
यहाँका ९ स्थानीय तहमध्ये हतुवागढी गाउँपालिका ७३ दशमलव २८ अंकसहित प्रथम भएको हो । आयोगले विभिन्न सूचकका आधारमा देशभरका स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कन गरी प्रतिवेदन सार्वजनिक गरेको छ ।
आयोगले स्थानीय सरकारको सेवा प्रवाह, वित्तीय व्यवस्थापन, योजना कार्यान्वयन, पारदर्शिता, सुशासन, राजस्व संकलन, सामाजिक विकास, पूर्वाधार निर्माण तथा प्रशासनिक कार्यकुशलताजस्ता विविध सूचकहरूलाई आधार मानेर मूल्याङ्कन गरेको जनाएको छ।
ती सूचकहरूमा हतुवागढी गाउँपालिकाले सन्तोषजनक र प्रभावकारी कार्यसम्पादन गर्दै जिल्लाभर उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो।
कोशी प्रदेशअन्तर्गतका १३७ स्थानीय तहमध्ये यो गाउँपालिका ७ औँ स्थानमा पर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ । यसले प्रदेशस्तरमै गाउँपालिकाको कार्यक्षमता र व्यवस्थापन क्षमताको पुष्टि गरेको स्थानीय सरोकारवालाहरूको भनाइ छ।