विराटनगर । मोरङको पथरीशनिश्चरेमा जंगली च्याउ खाँदा एकै परिवारका ४ जना बिरामी परेका छन् ।
सिकिस्त अवस्थाका रहेका बिरामीको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । जंगली च्याउ खाँदा पथरीशनिश्चरे नगरपालिका–६ का ५३ वर्षीय विजय कविरथ, उनकी पत्नी ५३ वर्षीया काजल कविरथ, छोरा २८ वर्षीय जयराम र छोरी १८ वर्षीया अस्मिता बिरामी परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पथरीका अनुसार विजयले घरनजिकको बाँस झ्याङमा उम्रिएको च्याउ टिपेर ल्याएको र पकाएर तरकारीका रूपमा परिवारका सबै जनाले खाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
च्याउ खाएपछि परिवारका सबै जना बिरामी परेका बताइएको छ । प्रहरीले जथाभावी हिसाबले जंगली च्याउ नखान सबैमा अनुरोध गरेको छ ।