मोरङमा आमाको कुटपिटबाट छोराको मृत्यु

न्युजलय १३ मङ्सिर २०७८, सोमबार ०२:२६ मा प्रकाशित

विराटनगर । मोरङमा छोराको हत्या गरेको आरोपमा प्रहरीले आमा र बहिनीलाई पक्राउ गरेको छ। 

कटहरी गाउँपालिका –५ बस्ने ४० वर्षीय राजेन्द्र उराउको आइतबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

उनको उपचारको क्रममा नोवल अस्पताल विराटनगरमा मृत्यु भएको हो। हत्या आरोपमा ५५ वर्षीया आमा बातियो उराउ र ३० वर्षीय बहिनी रिता पक्राउ परेका छन्।

शनिबार राति राजेन्द्रले मादक पदार्थ सेवन गरी आफ्नी आमा र बहिनीसँग झगडा गरेको प्रहरीले जनाएको छ ।  विवादको क्रममा आमा र बहिनीले बाँसको लाठीले राजेन्द्रको टाउकोमा प्रहार गरेका थिए। 

टाउकोमा प्रहारपछि घाइते भएका राजेन्द्रको उपचारको लागि नोवल अस्पताल पुर्‍याइएको थियो। त्यहीँ उनको उपचारको क्रममा मृत्यु भएको हो। 

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।