दुई पांग्रे सवारीको बिक्री घट्यो

न्युजलय १० पुस २०७९, आइतबार ०८:२२ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा बाइक तथा स्कुटरको चल्ती बढी देखिन्छन्। दुई पांग्रेमा ग्राहकहरूको विशेष आकर्षण छ। तर यस्तैमा होन्डाको बाइक तथा स्कुटरको बिक्री भने ५० प्रतिशतसम्मले घटेको कम्पनीका व्यवसाय विकास व्यवस्थापक निजेन लाल श्रेष्ठ बताउँछन्। 

 

उनका अनुसार अहिले बैंकिङ प्रणालीमा तरलता अभावका कारण अटो लगायतका कर्जा सर्वसुलभ रूपमा ग्राहकहरूले पाउन सकेका छैनन्। बैंकिङ कर्जा प्रवाह सहज नहुँदासम्म ग्राहक संख्या बढ्ने अपेक्षा राख्न नसक्ने उनी बताउँछन्।


होन्डाको जस्तै यामाहाको बिक्रीमा पनि विभिन्न कारण अहिले गिरावट देखिएको छ। कम्‍पनीका अनुसार गत वर्षको तुलनामा यामाहाको बिक्रीमा ५५ प्रतिशतले गिरावट आएको छ।

 

बजाज नेपालको बजार व्यवस्थापन सम्हालिरहेका बिजेन सुवालका अनुसार पनि हाल बजार स्थिर छैन। कर्जा प्रवाह सहज नहुनुसँगै हाल बजारमा विद्युतीय दुई पांग्रेप्रति ग्राहकहरूको चासो बढ्नाले इन्धनबाट चल्ने सवारीलाई प्राथमिकतामा नराखेको हुन सक्ने उनी बताउँछन्।


यी कम्पनीसँगै हाल केटिएम नेपाल, सुजुकी, टिभिएस, हिरो लगायत ब्रान्डको बाइक बिक्रीमा पनि कमी आएको व्यवसायीहरू बताउँछन्।