इटहरी । इटहरी र धरानबिच सीमा विवाद फेरी बल्झिएको छ । इटहरीको पानीपियामा धरान उपमहानगरपालिकाले आफ्नो बोर्ड राखेपछि सीमा विवाद बल्झिएको हो ।
धरानका मेयर हर्क साम्पाङले ‘धरानले आफ्नो साँध सिमाना सुनिश्चित गर्छ, अरुलाई मिच्दैन र आफू पनि मिचिंमाग्दैन’ भन्दै पानीपियामा सिमाना प्रारम्भ बोर्ड राखेको जानकारी दिएका छन् ।
पानीपिया भनेको तरहरादेखि उत्तर, जंगल सुरु हुन लाग्दाको क्षेत्र हो । सो ठाउँमा पानीको मुल रहेको छ । सो ठाउँबाट धरानका ट्यांकरहरुले पानी ओसार्ने गरेका छन् ।
यस्तै इटहरीले पनि सो ठाउँ र सो क्षेत्रमा रहेको सामुदायिक वनलाई लामो समयदेखि संरक्षण तथा उपभोग गर्दै आएको छ ।
स्थानीय तहको निर्वाचनपछि यसरी पटक पटक सीमा विवाद सतहमा देखिएको छ । यसअघि मेयर तिलक राईको पालामा पनि सीमा विवाद देखिएको थियो । सो समयमा धरानले सेउती पुल नजिकै रहेको इटहरीको सीमा समाप्त बोर्ड उखेलेर फ्यालिदिएको थियो ।
अहिले हर्क राई मेयर भएर आएपछि पानीपियामा एकतर्फी रुपमा धरानको सीमा प्रारम्भ बोर्ड राखेका छन् । यसले इटहरी र धरानबिच द्वन्द बढाउने देखिएको छ ।
सीमा निर्धारणका लागि यसअघि पटक पटक बैठक भएपनि सहमती हुन सकेको थिएन ।