सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्षका जङ्गली जनावरको आक्रमणमा ज्यान गुमाउनेको परिवारले १० लाख रुपैया पाउने भएका छन् । आरक्ष प्रभावित मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्यालाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरिएको हो ।
सरकारले यसअघि जनावरको आक्रमणमा परी ज्यान गुमाउने व्यक्तिको परिवारलाई पाँच लाख दिँदै आएको थियो । वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० मार्फत् क्षतीपूर्ती रकम बढाइएको हो ।
सुनसरी क्षेत्र नम्बर ४ का सङ्घीय सांसद तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उचित क्षतीपूर्तीका लागि लबिङ गर्दै आएकोमा सफल भएको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले बताए ।
साउन एक गतेदेखि निर्देशिका जारी हुनेछ । मध्यवर्ती क्षेत्रका बासिन्दाले उठाउँदै आएको आवाजको सुनुवाइ भएको वराहक्षेत्र नगरपालिकाको नगर प्रमुख रमेश कार्कीले बताए ।
कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्कने जङ्गली जनावरको आक्रमणबाट गम्भीर घाइते हुनेको हकमा उपचार खर्च बढीमा २ लाख दिने निर्देशिकामा उल्लेख छ । दुई लाख रुपियाँभन्दा बढी खर्च लाग्ने भएमा नजिकको जुनसुकै अस्पतालमा आकस्मिक उपचारमा लागेको खर्च र सरकारी अस्पतालमा उपचार गराउँदा लागेको सम्पूर्ण खर्च अस्पतालको चिकित्सकको सिफारिसमा उपलब्ध गराउने निर्देशिकामा उल्लेख गरिएको छ ।
अङ्गभङ्ग भई जीवनभर शारीरिक रूपले असक्त हुने अवस्थाको व्यक्ति वा निजको हकवालालाई जीविकोपार्जनका लागि एकमुष्ट पाँच लाख रुपियाँ दिइने र मृत्यु भएको व्यक्तिको हकमा नजिकको हकवालालाई राहतस्वरुप १० लाख उपलब्ध गराउने निर्देशिकामा जारी गरिएको छ ।
निर्देशिकाले भैँसी, राँगो, गोरु, उन्नत जातको गाई, घरपालुवा चौरी, घोडा र खच्चडको मृत्यु भएमा मूल्याङ्कनको आधारमा अधिकतम प्रति पशु ६० हजार रुपियाँसम्म दिने भएको छ । यसअघि यो रकम अधिकतम ३० हजार रुपियाँसम्म थियो ।
वन्यजन्तुका कारण घरगोठको क्षति भएमा मूल्याङ्कनमा आधारमा बढीमा २० हजार रुपियाँसम्म राहत दिइने भएको छ । यसअघि यो रकम १० हजार थियो ।
राजपत्रमा प्रकाशित हुनसाथ यो कार्यान्वयनमा आउनेछ ।