चितवन । त्रिशूली नदीमा खसेको जीप फेला परेको छ ।
नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ को तीन नम्बर पुलबाट त्रिशूली नदीमा खसेको भारतीय नम्बर प्लेटको जीप गोताखोरको टोलीले फेला पारेको हो ।
आज बिहान बी आर ०९ जी सी १४३९ नम्बरको जीप त्रिशूली नदीमा खसेको थियो ।
सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले त्रिशूली नदीमा जीप खसेको सूचना पाएपछि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी निरीक्षकको नेतृत्वमा गोताखोरसहितको टोली परिचालन गरिएको जानकारी दिए। गोताखोरको टोलीले जीप पानीभित्र भेट्टाएको बताइएको ।
स्थानीयले जीप नदीमा खसेको खबर गरेपछि टोली घटनास्थलमा गएको थियो । जीपमा कति यात्रु थिए भन्ने यकिन हुन नसकेको बताइएको छ ।