इटहरी । इटहरीको आकाश इन्स्टिच्युटले उच्च शिक्षा अध्ययन गर्न लागेका विद्यार्थीहरूलाई शैक्षिक परामर्श दिएसँगै विदाई गरेको छ ।
एसईई दिएर शैक्षिक परामर्शको लागि आकाशमा भर्ना भएका विद्यार्थीहरुलाई बुधबार एक कार्यक्रमबीच विदाई गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले विद्यार्थीहरूले एसईई उत्तीर्ण भएपछि जुनसुकै विषय र जुनसुकै कलेज पढेपनि आफ्नो लक्ष्य बिर्सन नहुने बताइन् । उनले अहिलेका मानिसहरूमा धैर्यताको एकदमै कमि देखिएको भन्दै उनले धैर्यता राख्न र काम गरिछाड्ने अठोट राख्न आग्रह गरिन् ।
उनले किशोरकिशोरीहरु छिट्टै पैसा कमाउने र पदमा पुग्ने लालसा राख्ने बताउँदै त्यही लालसाका कारण गलत बाटोमा लाग्ने सम्भावना भएकोले सचेत बन्न आग्रह गरिन् ।
कार्यक्रममा आकाश इन्सिच्युटका कार्यकारी सञ्चालक गोपाल निरौलाले विद्यार्थीहरुलाई आफ्नो भविष्यको उचित मार्गदर्शनको लागि शैक्षिक परामर्श दिइरहेको बताए । उनले आफूहरुले विद्यार्थीलाई उनीहरुको क्षमता, आवश्यकताअनुसार उचित सल्लाह दिने गरेकोले विद्यार्थीहरुमाझ आकाश लोकप्रिय रहेको बताए । उनले विद्यार्थीहरुलाई आवश्यकताअनुसार छात्रवृत्तीसमेत दिने गरेको बताए ।
कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष दिवस पोखरेल, हिसान केन्द्रीय सदस्य बलराम पन्त, मुकुन्द घिमिरे, प्रदेश उपाध्यक्ष गणेश दुलाल, प्याब्सन सुनसरी उपाध्यक्ष नेल्शन ढकाल, अनन्त सुवेदी, खेमराज बास्तोला, केशव खड्का लगायतले शैक्षिक परामर्श र शिक्षा क्षेत्रको विकासको बारेमा बोलेका थिए ।
कार्यक्रम इन्स्टिच्युटका अध्यक्ष कमल तिम्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो ।