तीन कार्यकाल अध्यक्ष भएका अधिकारीलाई सहकारीले सदस्यबाटै निकाल्यो, संस्था र अधिकारी बिच आरोप प्रत्यारोप

न्युजलय २८ मङ्सिर २०८२, शनिवार १२:३९ मा प्रकाशित

इटहरी । इटहरीस्थित कामधेनु दुग्ध विकास सहकारी संस्थाले आफ्नो संस्थाको तीन कार्यकाल अध्यक्ष चलाइसकेका शेयर सदस्य कृष्ण अधिकारीको शेयर सदस्यता खारेज गरेको छ । साथै अर्का एक सदस्य मनोज दाहालको पनि सदस्यता खारेज गरेको छ भने कर्मचारी तेजप्रसाद सुवेदीलाई निलम्बन गरेको छ ।

कारवाहीपछि अधिकारी, दाहाल र सुवेदीले पत्रकार सम्मेलन गर्दै आफूहरुमाथि गैह्रकानुनी तरिकाले कारवाही गरिएको र त्यो फिर्ता हुनुपर्ने माग गरेका छन् । साथै कामधेनु सहकारीमा विभिन्न अनियमितता रहेको भन्दै छानविन गर्न पनि माग गरेका छन् । 

यता सहकारीले भने कारवाही आवश्यक र उचित भएको बताउँदै अरु ७० जना शेयर सदस्यलाई कारवाही गरिने चेतावनी दिएको छ । पत्रकार सम्मेलन गर्दै सहकारीका अध्यक्ष यादप ढकालले संस्थाको मर्मविपरीत सदस्य रहने र त्यसमा पनि संस्थाको हितविपरीतका कार्य गर्नेलाई संस्थाको नियमानुसार हटाइने चेतावनी दिए । 

संस्थाले ०६१ सालदेखि निरन्तर आठ वर्षसम्म तीन कार्यकाल अध्यक्ष भइसकेका व्यक्तिको शेयर सदस्यता नै खारेज गर्ने गरी कारवाही गर्नु सुनसरीका सहकारीको इतिहासमा विरलै भएको घटना मानिएको छ । यसरी कारवाही र आरोप प्रत्यारोपको श्रृंखला सुरु हुन्छ, सहकारीका कर्मचारी प्रेम मिश्रको आत्महत्या र आत्महत्या गर्नुअघि लेखेको भनिएको ‘सुसाइड नोट’, जसमा संस्थाकै अरु दुई कर्मचारीहरु बजार प्रमुख रञ्जित झा र शेरबहादुर खड्काको नाम उल्लेख गरिएको हुन्छ । 


सुसाइड र नोट

गत १७ कात्र्तिकमा कर्मचारी मिश्रले झापास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए । घरमा खाना खाने बेलामा कोठाभित्र पसेका मिश्र घरबाट निस्केनन् । उनी त्यसबिचमा आर्थिक र मनोवैज्ञानिक समस्याबाट पीडित रहेको बताइएको छ ।

उनलाई संस्थाले केही समयअघि स्पष्टीकरण सोधेको थियो । संस्थाबाट पटकपटक दबाब तथा मानसिक यातना दिइएकाले मिश्रले आत्महत्या गरेको पीडित परिवारले जनाएको छ । यद्यपी अहिलेसम्म किटानी जाहेरी परेको छैन ।

मिश्रले संस्थाका नाम उल्लेख गर्दै ‘सुसाइट नोट’लेखेका थिए ।

लगत्तै अध्यक्ष ढकालसहितका पदाधिकारीहरु गएर घटनाबारे बुझ्ने र प्रहरीलाई छानविनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । साथै उनीहरुले किरियाखर्च भनेर संस्थाको नियमानुसारको एक लाख र त्यसमा कर्मचारी, पदाधिकारीहरुले केही दिनको तलबवापतको रकम जम्मा गरेर सहयोग गरेका थिए । 

कतिपयले यसलाई ‘घटना सामसुम पार्न पैसा दिएको’ रुपमा अथ्र्याएर दुष्प्रचार गरेको ढकालले बताए ।

सोही घटनालाई अतिरञ्जित गर्ने, संस्थाका अन्य शेयर सदस्य र कर्मचारीहरुलाई प्रयोग गर्दै बद्नाम गर्ने षड्यन्त्र गरेको र संस्थाको हितविपरीत काम गरेको भन्दै सहकारीले दुई जनाको शेयर सदस्यता खारेज र एक जनालाई निलम्बन गरेको बताएको छ । 


दुधको उत्पादन वा बिक्रि वा खरीद गर्नैपर्ने प्रावधान

यस्तै संस्थाले दुधको उत्पादन, बिक्रि वितरण र प्रयोग तिन वटै काम नगर्ने व्यक्तिलाई सदस्य नबनाउने नीति लिएकोले पनि अधिकारी सदस्य हुन अयोग्य रहेको बताए । ‘न दुध उत्पादन गर्नुभयो, न बिक्रि वितरण गर्नुभयो, न कामधेनुको दुध किनेरै खानुभयो,’ ढकालले भने, ‘यहाँसम्म कि सदस्यहरुको संख्या बढाउनुपर्छ, दुधको क्षेत्रमा काम गर्ने किसानहरुलाई मालिक बनाउनुपर्छ भनेर भन्दा वहाँले अवरोध गरिरहनुभयो ।’

संस्थाले अघिल्लो वर्षदेखि शेयर सदस्य बढाउने अभियान सुरु गरेको थियो । ४४९ शेयर सदस्य रहेकोमा अहिले सदस्य संख्या १ हजार ६ सय नाघेको छ । अध्यक्ष ढकालले आफू किसानलाई मालिक बनाउन अध्यक्ष भएको बताउँदै सोहीअनुसार सदस्यता वृद्धि भइरहेको बताए । उनले अधिकारी र दाहालले दुधको कारोबार नगरेको बताउँदै अरु ७० जनाको सुची निकालेको र उनीहरुलाई पनि लखेट्ने बताए । भने, ‘मैले होइन, किसानले लखेट्ने हो ।’


यस्तो भनेका थिए अधिकारी, दाहाल र सुवेदीले 

कारवाहीपछि पत्रकार सम्मेलन गर्दै अधिकारीले संस्थाभित्र व्यापक अनियमितता भएको र त्यसबारे ढाकछोप गर्न आफूहरूलाई कारबाही गरिएको आरोप लगाएका थिए । भ्रामक र तथ्यहीन समाचार सम्प्रेषण गरिएको अभियोगमा निष्काशन गरिएको बताउँदै आफूले त्यस्तो केही काम नगरेको बताए । उनले संस्थाको पुर्व अध्यक्ष भएका हिसाबले पनि अनियमितताबारे चासो राख्दा आफूखुशी, नियमविपरीत हटाइएको अधिकारीले बताए ।

यस्तै कामधेनुको अध्यक्ष भइसकेपछि ढकालले तलबसरह मासिक ४० हजार लिन थालेको, त्यो रकम गैह्रकानुनी भएकोर आफूले विरोध जनाएको जिकिर गरे । धेरै वर्षदेखि सेयर सदस्यहरुले बोनस नपाएको, खर्च घटाउने योजना नबनाएको, सेयर सदस्यको पूँजीको पनि सम्मान गर्न भनेको, तर त्यही सुझावबाट रिसाएर कारवाही गरिएको बताएका थिए ।

यता निष्काशनमा परेका अर्का शेयर सदस्य दाहालले आर्थिक अनियमितताको आरोप लगाए । अध्यक्ष ढकालले मोरङमा बनिगामा सहकारी संस्था सञ्चालन गरी युवा स्वरोजगार कार्यालयबाट ४० लाख रुपैयाँ ऋण हिनामिना गरेको आरोप लगाए । सहकारी कालोसूचीमा परेपछि त्यहीँ कामधेनु संस्थाको सेवा केन्द्रको साइनबोर्ड झुण्ड्याएर कामधेनुबाट तलव भत्ता खुवाएको जिकिर गरे ।

यस्तै निलम्बनमा परेका मार्केटिङका कर्मचारी सुवेदीले आफूलाई यसअघिको सञ्चालक समितिले पनि हटाएको, पछि अदालतले निर्दोष ठहर गरेपछि पुनः हाजिर भएको, तर अदालतले तोकेको सुविधा दिन आनाकानी गरेपछि अहिले फेरी हटाएको आरोप लगाए । उनले आफूलाई मानसिक तनाव दिइएको समेत बताए ।


यस्तो छ ढकालको स्पष्टीकरण


तर अध्यक्ष ढकालले मृतकको परिवारलाई उचालेर सहकारी अगाडी धर्नामा राखेर आफ्नो राजिनामा गराउने र आफू अध्यक्ष हुने सपना पुर्वअध्यक्ष अधिकारीले देखेको र आफूले त्यसलाई असफल बनाएको बताए । उनले अधिकारीका कारण पहिले पनि दुई पटक साधारणसभा रोकिएको र संस्थालाई २१ लाख घाटा भएको बताए । 

नियमानुसार नै कारवाही गरेको र त्यसको लागि पटक पटक पत्राचार गरेको, स्पष्टीकरण सोधेको प्रमाण आफूसँग रहेको बताए । उनले शेयर सदस्यलाई सञ्चालक समितिले हटाउन सक्ने प्रावधानमा टेकेर कारवाही गरिएको बताउँदै साधारणसभाबाट बहुमत सदस्यको मत जितेर फेरी सदस्य कायम हुन पाउने सुविधा रहेको भन्दै साधारणसभा फेस गर्न चुनौति दिए । पुस १९ गते संस्थाको साधारणसभा रहेको छ ।

यस्तै आफूले नियमअनुसारको भत्ता लिएको बताउँदै संस्थाको प्रगती राम्रो भयो र सदस्यहरुले बढाइदिए भने ४० हजारको ठाउँमा एक लाख रुपैया पनि लिने बताए । उनले आफू आएपछि सहकारीले निरन्तर प्रगती गरिरहेको बताए । आफू आउँदा २८ करोडको कारोबार हुने सहकारीमा अहिले ८० करोड रुपैयाको कारोबार भइरहेको र एक वर्षपछि यसलाई एक अर्ब पार गर्ने र यो आर्थिक वर्ष दुई करोड रुपैया नाफामा लाने योजना रहेको बताए । उनले अस्ती दशैंअघि पहिलो पटक किसानहरुलाई ४४ लाख रुपैया अतिरिक्त मुल्य बाँडेको बताए बताउँदै संस्था र आबद्ध किसानहरुको लागि आफू दैनिक १५ घण्टा काम गरिरहेको पनि जानकारी दिए ।

यस्तै दाहालको आरोप खण्डन गर्दै उनले बनिगामा सहकारीले स्वरोजगार कोषअन्तर्गत लिएको पैसा लक डाउनका कारण काम गर्न नसक्दा नियमानुसार फिर्ताको प्रक्रियामा रहेको र त्यो सरकारले दिएको म्याद र सिमाभित्रै हुने बताए । यस्तै बनिगामा सहकारी कामधेनुमा गाभिइसकेकोले कामधेनुको सेवाकेन्द्र कायम गरी कर्मचारीलाई तलब दिइएको बताए । ‘त्यो कामधेनुको हो, तलब कामधेनुले नदिए कसले दिन्छ ?’ उनले भने । 

यस्तै निलम्बनमा परेका कर्मचारीले संस्थालाई ढाँटेको, संस्थाविरुद्ध लागेको प्रमाण रहेको ढकालले बताए । ‘जोगबनीमा मार्केटिङ गर्दैछु भनेर कहिले गोठगाउँ, कहिले इटहरीका घर र होटलमा मिटिङ गरेर बस्ने गरेपछि तलब दिएर हामीले पाल्न जरुरी छैन,’ उनले भने, ‘संस्थाको काम गर्दैछु भन्ने, तर त्यही समयमा इटहरी र गोठगाउँमा उनको जिपिएस ट्रयाक भएको छ, होटलका सिसिटिभी फुटेज प्राप्त भएको छ ।’


पूर्वको सबैभन्दा ठूलो दुग्ध उत्पादक सहकारी

एक हजार ६ सय बढी सेयर सदस्य भएको उक्त संस्थाले पुर्वका विभिन्न पाँच जिल्लाका ११ हजार बढी किसानले उत्पादन गरेको दुध खरीद गरी प्रशोधन गर्दै आएको छ । दुध, दही, घ्यु, चीज, छुर्पी, मिठाई लगायतका खाद्यवस्तु उत्पादन तथा बिक्रि गर्दै आएको छ । उत्पादित दुध दैनिक ५० हजार उपभोक्तामाझ पुग्ने गरेको छ । यस्तै संस्थाले किसानहरुलाई सुलभ मूल्यमा दाना, औषधी उपलब्ध गराउँदै आएको छ भने धेरै भएको दुधलाई पाउडर दुध बनाएर पनि बेच्ने गरेको छ । त्यसको लागि पाउडर दुध प्लान्ट कामधेनुकै उद्योग छेउमा स्थापित छ, जसमा कामधेनुसहित विभिन्न चार दर्जन सहकारीहरुको लगानी छ ।