दुर्गा प्रसाई एमाले केन्द्रीय सदस्यमा मनोनित

न्युजलय २६ मङ्सिर २०७८, आइतबार ०४:२६ मा प्रकाशित

 काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई नेकपा एमालेले केन्द्रीय सदस्यमा मनोनित गरेको छ । 

शनिबारबाट बसेको दोस्रो केन्द्रीय कमिटिको बैठकले प्रसाईलाई केन्द्रीय सदस्य बनाएको हो । गत असोज १५ देखि १७ गतेसम्मको विधान महाधिवेशन बेला गोदावरीमा देखिएका प्रसाई कार्तिक ७ गते झापाको विर्तामोडमा भएको भव्य समारोहमा  एमालेमा प्रवेश गरेका थिए।

चितवनमा भएको राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि बनेर आएका थिए । आफू प्रवेशसँगै अन्य माओवादी नेतालाई पनि उनले एमालेमा प्रवेश गराइरहेका छन् ।

लामो समय प्रसाई नेकपा माओवादी केन्द्रमा रहे । विगतमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग निकट रहेका प्रसाई एमाले र माओवादी केन्दको एकतादेखि चर्चामा आएका हुन्।

झापाको विर्तामोडमा रहेको बीएण्डबी मेडिकल कलेजलाई सम्बन्धन दिलाउने सिलसिलामा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र गिराजमणी पोखरेलले असहयोग गरेको आरोप प्रसाईले लगाउँदै आएका छन् ।

उनी ओली र प्रचण्डलाई मार्सीको भात खुवाइएपछि भाइरल भएका थिए। झापाको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा उम्मेदवारमा उनको चर्चा हुन थालेको हो।