व्यवस्थापन समिति गठनलाई लिएर धम्की आएको भन्दै कारवाही र शान्ती सुरक्षा माग

न्युजलय २४ बैशाख २०८०, आइतबार ०७:५१ मा प्रकाशित

इटहरी । रामधुनीस्थित आदर्श माविमा विद्यालय व्यवस्थापन समिति सदस्य छनोटको विषयलाई लिएर धाकधम्की आएको भन्दै विभिन्न शिक्षक संगठनहरुले शान्ती सुरक्षा मागेका छन् । विभिन्न सात संगठनका प्रतिनिधिहरुले विज्ञप्ती जारी गर्दै धम्की दिनेलाई कारवाही गर्न र शान्ती सुरक्षा दिन माग गरेका हुन् ।

रामधुनी वडा नं. ६ स्थित आदर्श माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन गर्ने क्रममा दुई जना मनोनित गरेको विषयलाई लिएर धम्की आएको जनाइएको छ । शिक्षा प्रेमी, समाजसेवी, बुद्धिजिवी र चन्दादाताहरु मध्येबाट गत विहीबार दुई जना छनौट गरेको विषयमा गैह्र अभिभावकहरुले विद्यालय हाताभित्र हुल हुज्जत गरी शिक्षक प्रतिनिधि खगेन्द्र न्यौपानेमाथि अभद्र व्यवहार गर्दै कुटपिट गर्ने धम्की दिएको जनाइएको छ । 

‘धम्कीपूर्ण अमानविय व्यवहारले निज शिक्षक खगेन्द्र न्यौपानेलाई मात्र नभएर यस रामधुनी नगरपालिका अन्तर्गतका कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीहरु प्रति अपमान भएको महशुस भएको छ साथै उक्त व्यवहारले विद्यालयको शैक्षिक वातावरण समेत खलबलिएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘शिक्षक तथा कर्मचारीप्रति भएको यो व्यवहारको यस नगरपालिकामा कार्यरत सम्पूर्ण हामी शिक्षक तथा कर्मचारीका पेशागत संगठनहरु नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, एकिकृत अखिल नेपाल शिक्षक संगठन, नेपाल राहत शिक्षक समिति र नेपाल विद्यालय कर्मचारी परिषद घोर भर्त्सना एवं खेद प्रकट गर्दछौं ।’