बिहेको प्रस्ताव अस्वीकार गर्दा प्रेमिकासहित दुई जनाको हत्या

न्युजलय १८ जेठ २०८०, बिहिबार १२:५८ मा प्रकाशित

कृष्णनगर । कपिलवस्तुको बाणगंगामा दुई जनाको हत्या भएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा हत्या भएको कपिलवस्तु प्रहरीले जनाएको छ । 

बाणगंगा नगरपालिका–६ , मटेरियाका ७० बर्षीय बमबहादुर थारु र उनकी भतिजी २२ बर्षिय अन्जनी थारुको चक्कु प्रहार गरी हत्या गरिएको हो । बिहीबार बिहान ९ बजेतिर दुवै जनालाई चक्कु प्रहार भएको थियो ।

तत्काल उपचारका लागि भतिजीलाई भैरहवा मेडिकल कलेज र काकालाई स्थानीय अस्पतालमा लगिएको थियो । उनीहरु दुवैजनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुपन्देहीको कञ्चनका २२ बर्षिय मोहन थारुले उनीहरु माथि चक्कु प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । चक्कु प्रहारपछि दुबै जना गम्भीर घाइते भएका थिए । बमबहादुरको जीतपुरमा उपचारको क्रममा र अन्जनीको मेडिकल कजेल भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोहन थारु र अन्जनी थारु विगत २ बर्षदेखि प्रेम सम्बन्धमा रहेको र विहेको प्रस्ताव अस्वीकार गरेपछि हत्या गरेको बताए । हत्या गर्ने थारुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।