काठमाडौं । ‘आदिपुरुष’ फिल्मको प्रदर्शन देशभरमै रोकिने भएको छ । फिल्मको नेपाल वितरण कम्पनी ब्यांकटेस फिल्म्सले सोमबारदेखि फिल्म प्रदर्शन रोक्ने निर्णय भएको बताए ।
काठमाडौं महानगरपालिकाको आधिकारिक पत्रबिनै हल व्यवसायीले फिल्मको प्रदर्शन रोकेपछि अन्य क्षेत्रमा समेत नचलाउने निर्णय गरेको उनले बताए । उनले भने, ‘हामी कानुनी उपचारमा पनि जाँदैनौं ।’
मेयर बालेनको निर्देशनमा नगर प्रहरी आइतबार बेलुका हलहलमा पुगेर फिल्म नचलाउन मौखिक निर्देशन दिएका थिए । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको निर्देशनपछि हल व्यवसायीले सोमबारदेखि काठमाडौं महानगरका १७ वटै हल बन्द गराएका छन् । पोखरा र धरानमासमेत फिल्म प्रदर्शन रोकिएको छ ।
चलचित्र संघ र हल व्यवसायीले आधिकारिक निर्णयबिना फिल्म रोक्ने कार्य गरेकोप्रति राठीको असन्तुष्टि छ ।
जानकी भारतकी छोरी भएको भन्ने संवादमा आपत्ति जनाउँदै मेयर बालेनले फेसबुकमार्फत यसलाई भारतमा सच्याउन तीन दिनको समय दिएका थिए । तर नसच्याइएको भन्दै सोमबारदेखि भारतीय फिल्मलाई निषेध गर्ने निर्णय उनले गरेका छन् ।
फिल्म निर्माता निर्देशकले भने जानकीको जन्म हुँदा नेपाल पनि भारतको हिस्सा भएको कुतर्क गरेका थिए ।