इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ सोनियाहीस्थित हुलाकी राजमार्गमा बिहीबार बिहान ट्रक पल्टिँदा मृत्यु हुने पाँच जनाको पहिचान खुलेको छ ।
बिहान करिब ५ः३० बजे विराटनगरबाट राजविराजतर्फ टायल र मार्बल लोड गरी जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक आफैं अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मृत्यु हुनेमा सुनसरीको बर्जु गाउँपालिका–१ का ३२ वर्षीय धिरेन्द्र गुरुङ, ५५ वर्षीय ब्रह्मदेव गुरुङ, ५० वर्षीय टंक गुरुङ, २८ वर्षीय निशम गुरुङ र ५५ वर्षीय चन्द्रबहादुर गुरुङ रहेका छन् ।
ट्रकमा चालकसहित नौ जना सवार थिए ।
दुर्घटनाका क्रममा ट्रकको पछाडि लोड–अनलोड कार्यका लागि बसेका पाँच जना कामदार मार्बलले किचिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा घाइते भएका तीन जनालाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ अस्पताल पठाइएको छ । घाइते हुनेमा बर्जु गाउँपालिका–१ का ३४ वर्षीय सुन्दर गुरुङ, ५६ वर्षीय बैजनाथ गुरुङ र ५७ वर्षीय मानबहादुर गुरुङ रहेका छन् ।
अस्पताल स्रोतका अनुसार उनीहरूको अवस्था सामान्य रहेको छ ।
ट्रक चालक सुनसरीको दुहबी नगरपालिका–३ का अन्दाजी २८ वर्षीय बिरेन्द्र कुमार विश्वास दुर्घटनापछि फरार रहेको प्रहरीले जनाएको छ ।
फरार चालकको खोजतलास भइरहेको र घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।