आजबाट आर्यन र उपासनाको ‘डिसेम्बर फल्स’ प्रदर्शनमा

न्युजलय १५ पुस २०७९, शुक्रबार ०८:२० मा प्रकाशित

काठमाडौं । आज शुक्रवारबाट फिल्म ‘डिसेम्बर फल्स’ प्रदर्शनमा आउँदैछ । हलमा अन्य फिल्म रिलिज नहुँदा आर्यन सिग्देल र उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको यस फिल्मले सोलो प्रदर्शनको मौका पाएको हो।

नेपालका मल्टिप्लेक्सहरुमा फिल्मले उत्साहजनक शो पाएको छ। देशकै सबैभन्दा ठूलो चेन क्यूएफएक्सले देशभर २० शो दिएको छ। त्यसैगरी, बिग मुभिजले भने फिल्मलाई ३ शो र वान सिनेमाजको नयाँ बाँनेश्वर र कालीमाटीको हलमा गरी ८ शो उपलब्ध गराएको छ।

भारतीय फिल्मकर्मी प्रवीण झाद्वारा निर्देशित फिल्ममा आर्यन र उपासनाका साथै सलोन बस्नेत, सुमन थापा, नागेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराईलगायतको अभिनय छ।

बिपीका खनालको कथा रहेको फिल्मको पटकथा र संवाद केदार भुसालले तयार पारेका हुन्। सस्पेन्स लभस्टोरी फिल्ममा बिरामीको उपचारमा संलग्न नर्सले भोग्नु परेका विविध परिस्थितिलाई समावेश गरिएको छ।