विराटनगर । विराटनगर महागनरपालिकाका मेयर नागेश कोइरालाविरुद्ध ‘गालीगलौज गरेको’ आरोपमा पक्राउ परेकी सामाजिक अभियन्ता इन्दिरा चापागाई एक सय रुपैया धरौटीमा रिहा भएकी छिन् ।
शैक्षिक सुधारको माग राख्दै विराटनगर महानगरपालिकाको प्रवेशद्वार अगाडि मौन प्रदर्शन गरीरहेको बेला उनी पक्राउ परेकी थिइन् । महानगरले उजुरी गरेपछि साउन १५ गते चापागाईंलाई प्रहरीले पक्राउ गरेको थियो । सात दिन थुनामा बसेकी उनलाई दोस्रो पटक आठ दिनका लागि म्याद थप गरि प्रमुख जिल्ला अधिकारीसमक्ष उपस्थित गराइएको थियो ।
जिल्ला प्रशासन कार्यालय मोरङले चापागाईंसँग १०० रुपैयाँ धरौटी मागेको थियो । कसैको विरोध गरेको भरमा जेल पठाउन मिल्ने नदेखिएको कार्यालयको भनाई छ ।
महानगरपालिकाले विराटनगर–५ स्थित गोग्राह उच्च माविमा निजीस्तरबाट सञ्चालित गोग्राहा कलेजलाई पाँच लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो । चापागाईँले त्यो रकम सामुदायिक विद्यालयलाई उपलब्ध गराउन माग गरेकी थिइन् । तीन महिनादेखि महागनरको प्रवेशद्वार अगाडि उभिएर उनले विरोध गर्दै आएकी थिइन् ।