ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, १८ जना घाइते

न्युजलय २ मङ्सिर २०७८, बिहिबार ०७:१६ मा प्रकाशित

जनकपुरधाम । धनुषाको बिदेह नगरपालिका ७ बेलापट्टीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।


सिरहा—धनुषा जोड्ने कमला नदीमा पूर्णिमा स्नान गर्न गइरहेको भारतीय नम्बरको ट्याक्टर दुर्घटना भएको हो । प्रहरीका अनुसार उक्त ट्याक्टरमा सवार भारत विहार राज्यको सितामढी बेला थाना एकहरियाकी अम्बिका मण्डल र रामदयाल रायको मृत्यु भएको छ ।


घाइतेहरुलाई उद्धार गरी उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल लगिएको छ । केहि घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरु सबै भारतीय नागरिक हुन् ।