इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्य अशोक कुमार चौधरीले वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने नेपालीको लास २४ घण्टाभित्र नेपाल ल्याउन माग गरेका छन् ।
प्रतिनिधि सभामा बोल्दै उनले मृत्यु भएको २४ घण्टाभित्र नेपाल फर्काउने गरी कार्यालय राख्न माग गरेका हुन् । उनले देशको अर्थतन्त्र धानिरहेका युवाहरु बिरामी पर्दा र मृत्यु हुँदा पनि स्वदेश फर्कन नपाउने अवस्था सृजना हुनु दुःखद् भएको भन्दै स्वदेश फर्कन चाहनेलाई अबिलम्ब फर्कने वातावरण मिलाउनसमेत माग गरेका छन् ।
उनले अवैधानिक तरिकाले खाँडी देश जाने नेपालीहरुको संख्या पनि बढिरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न र मानव तस्करहरुलाई कारवाही गर्न माग गरेका छन् । साथै अवैधानिक तरिकाले गएर बिरामी हुने र मृत्यु हुने युवाहरुलाई पनि फर्कने उचित व्यवस्था मिलाउन माग गरेका छन् ।
उनले श्रम बेचेर देशको अर्थतन्त्र कहिलेसम्म धान्ने हो भन्दै प्रश्नसमेत गरेका छन् । स्वदेशमा नै रोजगारी दिन उनले सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएका छन् ।
यस्तै उनले नगदे बाली खेती गर्ने किसानलाई ऋण उपलब्ध गराउन माग गरेका छन् । साथै सिँचाइ, भण्डारण र यातायात सञ्जाल जस्ता पूर्वाधारहरू विकास गर्न पनि माग गरेका छन् ।
उनले बकलौरीमा रहेको रसा तालले लाखौं पर्यटक भित्राउने क्षमता राख्ने भन्दै यस क्षेत्रको सम्वर्धन र प्रवर्धन प्रवर्द्धनको लागिसमेत ध्यानाकर्षण गराएका छन् ।