शो घटाइएपछि बाबरीको टिम असन्तुष्ट, आन्दोलनको चेतावनी

न्युजलय १७ असोज २०७९, सोमबार ०५:११ मा प्रकाशित

काठमाडौँ । नेपाली चलचित्रलाई हलहरूले शो नदिएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् । चलचित्र नै बन्न नदिने नियतले एकपछि अर्को षड्यन्त्र भइरहेको भन्दै चलचित्रकर्मीले चेतावनी दिएका हुन् । 

बाबरी चलचित्रका विषयमा सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले राज्यलाई तत्काल नीतिनियममा सुधार गर्न आग्रह गर्दै आन्दोलनको चेतावनी दिएका हुन् । 

चलचित्रका निर्माता समेत रहेका नायक नबल खड्काले देशमा विदेशी फिल्मको दलाली भइरहेकोले आन्दोलनमा जाने बताए । चलचित्र नायक धीरज मगरले बाबरी चलचित्रले दर्शकको माया पाइरहेपनि शो नपाइरहेकामा आपत्ती जनाए । बाबरी चलचित्रकी नायिका अदिति बुढाथोकीले नेपाली चलचित्रहरूको विकास गर्ने परिवेश निर्माण भएमा मात्र नेपालको हित हुने बताए ।