धरान । धरान खानेपानी व्यवस्थापन बोर्डको बैठक एक वर्षदेखि नबसेको भन्दै उद्योग वाणिज्य संघ सुनसरीले जवाफ मागेको छ । आफू पदेन सदस्य रहेको बोर्डको बैठक एक वर्षदेखि नबसेको र हिसाबकिताब पनि सार्वजनिक नभएको भन्दै जवाफ मागेको हो ।
बोर्डको कार्यालयमा संघले बोर्डका कार्यकारी निर्देशक राजु पोखरेललाई चार बुँदे प्रश्नसहितको माग पत्र बुझाएको छ । साथै उसले बैठक बोलाउनसमेत अनुरोध गरेको छ ।
संघले चार वटा प्रश्नहरु सोधेको छ, बैठक बसेको छ कि छैन ? बसेको भए किन नबोलाएको ? हालसम्म सम्पन्न भएका हरहिसाब नियमित बैठकको प्रक्रिया पुरा गरेर गरेको छ कि छैन ? चालु आर्थिक वर्षको आय व्यय हरहिसाब हालसम्म बोर्ड बैठकबाट पारित गरिएको छ कि छैन ? भन्ने प्रश्न गरेको छ ।
बोर्डको विधानअनुसार धरानका नगर प्रमुख पनि पदेन सदस्य हुन् । तर नगर प्रमुख हर्कराज राईले अध्यक्षको हैसियतमा काम गरिरहेका छन् भने । त्यसयता बैठक बसेको छैन भने हिसाब किताब पनि सार्जजनिक भएको छैन । खानेपानी बोर्ड ऐन २०६३ को दफा १४ को उपदफा १ बमोजिम वर्षको ६ पटक वा तिन महिनाको फरकमा बोर्ड बैठक अनिवार्य बस्नुपर्ने प्रावधान छ ।