काठमाडौं उपत्यकासहित पूर्वका धेरैजसो ठाउँमा वर्षा

न्युजलय ३० बैशाख २०८१, आइतबार ०१:०३ मा प्रकाशित

काठमाडौं । अहिले काठमाडौं उपत्यकासहित देशभरका विभिन्न ठाउँमा मेघ गर्जनसहित पानी परिरहेको छ ।

सबैभन्दा बढी तराई क्षेत्रमा पानी परेको छ । पर्साको मुडलीमा बिहान तीन घण्टामै ८१ मिलिमिटरभन्दा धेरै पानी परेको छ । पूर्वी तराईको धेरैजसो ठाउँमा पानी परेको छ ।

नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीकोसमेत प्रभाव रहेकोले बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशका सबैजसो ठाउँमा बदली भएर मध्य र पूर्वका धेरैजसो ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिए ।

साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा भारी बर्षाको समेत सम्भावना छ ।