पाँचथरमा बाढी पहिरोका कारण पाँच सय बढी विस्थापित

न्युजलय ७ असार २०८०, बिहिबार ०२:०८ मा प्रकाशित

 फिदिम  । पाँचथरमा असार २ गतेदेखि आएको वर्षाका कारण बाढी र पहिरोमा परी विस्थापित हुनेको सङ्ख्या बढेको छ । बिहीबार मध्यान्हसम्म विस्थापितको सङ्ख्या पाँच सय ३६ पुगेको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ ।

फिदिम नगरपालिकासँगै याङवरक हिलिहाङ र फालेलुङ गाउँपालिकाका मा एक सय ३६ घर बाट नागरिक विस्थापित भएको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले जानकारी दिए ।

यस्तै, असार ३ गते मध्यरातमा आएको बाढीका कारण जिल्लामा हालसम्म तीन जनाले ज्यान गुमाएको छ भने तीन जना बेपत्ता छन् ।

पहिरोका कारण जिल्लाका विभिन्न पुलमा लगाएका १५ वटा पुलमा क्षति पुग्नका साथै ५ वटा जल विद्युत् कम्पनीमा बिजुली उत्पादन ठप्प भएको छ ।

बाढीले हेवा र तमोर खोलाका पुल बगेका कारण राहत र उद्धारमा समेत कठिनाइ भइरहेको छ ।