एकजुट हुन काँग्रेस सभापति देउवाको आग्रह

न्युजलय ६ साउन २०८०, शनिवार ०७:४३ मा प्रकाशित

इटहरी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुनसरीमा आएर नेपाली राजनीतिमा वीपी कोइरालाको योगदान स्मरण गरेका छन् । इनरुवामा आयोजित ४१ औं वीपी जयन्तीमा बोल्दै उनले वीपीले कल्पना गरेको लोकतन्त्रको स्थायीत्व र दिगो शान्तीका लागि सबैलाई एकजुट हुन आग्रहसमेत गरेका छन् । 


बीपी कोइरालाको शालिक अनावरणपछि आयोजित कार्यक्रममा बोल्दै उनले वीपी गिरिजाप्रसादको कर्मथलो सुनसरीमा आउन पाएकोमा खुसी लागेको बताए । उनले अहिले नेपाली राजनीतिमा लोकतन्त्रको रक्षाका निम्ति गठबन्धन आवश्यक रहेको बताउँदै भने, ‘यसैकारण अहिले कांग्रेस पहिलो पार्टी बनेको छ । आगामी दिनमा कांग्रेसलाई बहुमत दिलाउन सबै साथीहरूलाई एकजुट हुन आग्रह गर्दछु।’


देउवाले अहिले चलिरहेको पार्टीको बैठक लाइभबाट सकारात्मक प्रतिक्रिया पाएको बताउँदै निरन्तरता दिने संकेत गरे । 


कार्यक्रममा पार्टीका सहमहामन्त्री भीष्मराज आङ्देम्बे, पार्टीका पूर्वउपसभापति विजयकुमार गच्छदार, कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, कोशी प्रदेशका मुख्यमन्त्री तथा पार्टी प्रदेश सभापति उद्धव थापा लगायत केन्द्रीय सदस्यहरूले वीपीको योगदान र नेपाली काँग्रेसको भूमिकाबारे बोलेका थिए ।