सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवलाई आइतबार जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ।
जबरजस्ती करणी उद्योग मुद्दामा पुर्पक्षको क्रममा थुनामा बसेका यादवको मुद्दाको सम्पूर्ण अनुसन्धान प्रक्रिया पुरा भई पेशीमा चढेपछि सुनुवाइको क्रममा सुनसरी जिल्ला अदालतका न्यायधिश टिकेन्द्र दाहालको इजलासबाट सफाइ पाएका हुन् ।
अदालतले अनुसन्धानको क्रममा उक्त मुद्दामा असोज १२ गते स्वास्थ्य परीक्षण प्रतिवेदन झिकाउने काम भएको थियो भने कार्तिक २८ गते बहस नोट पेस गर्न आदेश दिएको थियो । यसरी अदालतको सम्पूर्ण अनुसन्धान प्रक्रिया पुरा गरी छैठौें पेशीको क्रममा मुद्दाको अन्तिम फैसला गर्दै अध्यक्ष यादवलाई सफाइ दिएको सुनसरी जिल्ला अदालत स्रोतले जनाएको छ ।
गत वैशाख ८ गते धरान स्थित एक होटलमा खाजा खान गएको अवस्थामा अध्यक्ष यादवले एक बालिकालाई जबरजस्ती करणी उद्योग गरेको भन्दै इलाका प्रहरी कार्यालय धरानले जबरजस्ती करणी उद्योग मुद्दा दर्ता गरेको थियो । गत जेठ ३ गते देखि अध्यक्ष यादव पुर्पक्षको लागि कारागार कार्यालय झुम्कामा थुनामा बसेका थिए ।